प्रतिनिधिसभाको बैठक सञ्चालन खर्च दैनिक ७ लाख
काठमाण्डौं – प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो रकम बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एकमुष्ठ रकम हो । बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । बैठकको पूर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ताबापत एक हजार र यातायात बापत १ हजार गरी प्रति सांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए ।
बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्छ । दैनिक जसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ ।