योगेश भट्टराईद्वारा राष्ट्रपति भण्डारीबाट पर्यटनमन्त्रीको शपथ ग्रहण

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन् । ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए ।

कास्कीबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय नेतृत्वविहीन थियो । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भट्टराई एमाले–माले विभाजन भएका बेला माले निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित समेटा भएका थिए ।

२०४६ सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा पक्राउसमेत परेका भट्टराई पार्टीभित्र उदीयमान नेताका रूपमा चिनिन्छन । एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भट्टराई नवौं महाधिवेशनमा केन्द्रीय सचिव पदमा निर्वाचित भएका थिए । भट्टराई २०७४ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन ।

Leave A Reply

Your email address will not be published.