काठमाण्डौं – काठमाण्डौंको बुढानिलकण्ठबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला इन्चार्जसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुढानिलकण्ठबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्याय भृकुटी, युवा संघका जिल्ला इन्चार्ज कुबेर घिमिरे र प्रमे तामाङ छन् ।

पक्राउ परेका तीनै जनालाई महानगरी प्रहरी परिसर काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरिरहेको छ । ४ साउनमा भक्तपुरको काँडाघारीबाट विप्लव समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसअघि पनि विभिन्न जिल्लामा विप्लव समूहका नेताकार्यकर्ता पक्राउ परेका थिए ।