काठमाण्डौं – काठमाण्डौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंका डीएसपी होविन्द्र बोगटीले भने, ‘‘तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ । गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।”

उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको र कुनै प्रकारको क्षति नभएको बताए । डीएसपी वोगटीले भने,‘‘एयरगनको गोली होकि जस्तो देखिन्छ । परीक्षणपछि थप जानकारी होला । तर लाइसेन्स प्राप्त हतियारधारीले चलाउँदा वा खेलाउँदा गोली निस्कियो कि भन्ने आशंका पनि हामीले गरेका छौं । त्यो क्षेत्रमा लाइसेन्स प्राप्त हतियारको विवरण खोजिरहेका छौं ।’’

घटनाको परिसर काठमाण्डौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । एक प्रहरी अधिकारीले भने घटनामा इन्सास राइफलको गोली प्रयोग भएको बताएका छन् ।