काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा स्कुल विभागबारे निर्णय गर्न नसकेपछि स्थगित भएको छ । बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बसेको बैठकमा पार्टीको स्कुल विभागमा देखिएको विवादबारे छलफल भएको थियो । स्कुल विभागको नेतृत्वबारे समाधान निकाल्न नसकेपछि थप छलफल गर्न भन्दै बैठक स्थगित गरिएको जनाइएको छ ।

बैठकमा ज्येष्ठ कम्युनिष्ट मञ्च, विभागहरु, जनवर्गीय संगठनको नेतृत्वलगायतमा इच्छुकहरुसँग छलफल गरी कार्यविभाजन प्रस्ताव ल्याउनेबारे छलफल भएको थियो ।

नेकपामा स्कुल विभागको नेतृत्वमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरेपछि सचिवालयले विभागको जिम्मेवारी तोक्न सकेको छैन ।