काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय अदालत (हेग) मा लागिए आफू संसारकै हिरो बनेर निस्किने बताएका छन् । विप्लव नेतृत्वको नेकपाका केही नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले हेग लगे पनि आफूलाई रत्तिभर पनि फरक नपर्ने बताए ।

‘प्रचण्डलाई हेग लाने रे, अन्तर्राष्ट्रिय अदालतमा झुण्डाउने रे भनेर प्रतिक्रियावादीहरुले अनेक षडयन्त्र गरिरहेका छन् तर मलाई हेग लगियो भने झनै हिरो बनेर निक्लिन्छु, संसारले मलाई एकैचोटी चिन्छ’, प्रचण्डले भने ।

उनले आफूलाई हेग लगिए यो मान्छे त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर संसारले बुझ्ने दाबी गरे । तर आफूलाई हेग लगेर हिरो बन्न दिने काम भने प्रतिगामीहरुले नगर्ने प्रचण्डले बताए ।

जनयुद्धका क्रममा हजारौँ नेपालीको हत्या भएको र त्यसको नेतृत्वकर्ता प्रचण्ड रहेको भन्दै उनलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी एक पक्षले लामो समयदेखि दिइरहेको छ ।

प्रचण्डले एक दिन भए पनि जेलमा हाल्ने प्रचण्डलाई भनेर षडयन्त्रकारीहरु लागि परेको सुनाए ।

‘१३ हजार मान्छे मार्ने, बिध्वंश मच्याउने, मन्दिर भत्काउने लाई त्यत्तिकै छोड्न हुन्न, एक दिन भए पनि जेल हाल्नु् पर्छ भनेर लागेका छन् मलाई हेग लगे भने त हिरो बनेर निस्कन्थे तर यीनीहरुले मलाई हिरो बन्न दिन्छन् जस्तो लाग्दैन’, प्रचण्डले भने ।