काठमाण्डौं – राज्यको शक्तिमा रमाउन चाहने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनेक थरी छट्पटाहट हुन थालेको छ । प्रचण्डले अहिले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई आफ्नो घेराभित्र राख्न अनेकौ तिकड अपनाएका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा प्रचण्डले बिहान र बेलुका माओवादी पृष्ठभूमि भएका नेताहरूलाई बोलाएर बहसहरू गर्ने गरेका छन् । स्रोतका अनुसार खुमलटारमा एमाले पृष्ठभूमि भएका नेताहरू जाँदैनन् । खुमलटार जाँदा ब्ल्याक लिष्टमा पर्ने डरले एमाले पृष्ठभूमि भएका नेताहरूले प्रचण्डको निवासलाई बहिस्कार नै गरिदिएका छन् ।
प्रचण्डलाई भेट्न नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल आक्कल झुक्कल मात्रै जाने गरेका छन् । गौतम पनि प्रचण्डसँग धेरै नजिक हुन रुचाएका छैनन् । प्रचण्डबाट भित्रभित्रै आफूलाई धोका भएको चाल पाएपछि गौतमले प्रचण्डसँगको दुरीलाई ठीक ठाउँमा र ेजेका छन् । महासचिव पौडेल पार्टी कामको लागि बेला–बेला जाने गरेका छन् ।
खुमलटार जानु अगाडि पौडेलले पनि बालुवाटारमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएर मात्रै जाने गरेको स्रोतको भनाइ छ ।
एमाले पृष्ठभूमि भएका र केही साना दलबाट मिसिएका केन्द्रीय नेताहरू घर खर्चका लागि पैसा लिन खुमलटार जाने गरेका छन् ।
‘प्रचण्डलाई भेट्न आउने भनेका माओवादी पृष्ठभूमि भएका नेताहरू मात्रै आउँछन्’, स्रोतले भन्यो, ‘एमाले पृष्ठ भूमि भएका र साना दलबाट नेकपामा प्रवेश गरेका दलका नेताहरू बेला–बेला घरखर्च लिन आउँछन् । खुमलटारमा पहिला जस्तो चहलपहल छैन ।’
खुमलटारमा हुने हरेक गतिविधि र जानकारीहरू बालुवाटारमा पुग्ने गरेको छ । ओलीलाई खुमलटारको हरेक जानकारी दिइने गरेको स्रोतले जनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रचण्डलाई विश्वास गर्न सकेका छैनन् । प्रचण्डलाई अविश्वासी नेताका रुपमा एमाले पृष्ठभूमि भएका नेताहरूले चित्रण गर्ने गरेका छन् ।
प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने भएकाले पनि एमाले पृष्ठभूमि भएका नेताहरू नजिक हुन नचाहेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले पुर्नगठन हुने मन्त्री मण्डलमा प्रभु साह, देवेन्द्र पौडेल, अग्नि सापकोटा, हरिबोल गजुरेलसहितका नेताहरूलाई मन्त्री बनाउने भनेर आश्वासन दिएर थामथुम गरेर राखेका छन् ।
त्यतिमात्रै होइन प्रचण्डले माधवकुमार नेपालको गुटलाई फुटाउन योगेश भट्टराईलाई पनि आफ्नो कोटाबाट भएपनि मन्त्री बनाउने भनेर आश्वासन दिएको चर्चा छ ।
प्रचण्डले दुई–दुई वर्षमा मन्त्रीहरूलाई फिर्ता बोलाएर अरुलाई अवसर दिने भनेर आफू निकटका सांसद र नेताहरूलाई थामथुम गरेर राख्ने गरेको स्रोतको भनाइ छ ।
आफू पनि प्रधानमन्त्री बन्ने दौडमा रहेका प्रचण्डले खुमलटारमा हुने गोप्य बैठकहरूमा आगामी असोज महिनाको आसपासमा नयाँ सरकार बन्ने समेत बताउन थालेका छन् । ‘प्रचण्डले असोज महिनासम्म ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्छु भनेर भन्न थाल्नु भएको छ’, माओवादी पृष्ठभूमि भएका एक जना नेताले भने ।
अहिले नै पार्टीभित्रको सबै कुराहरू मिलाउने हो भने ओलीलाई सरकार र पार्टी चलाउन सजिलो हुने भएकाले प्रचण्डले नै पार्टी समायोजनमा ढिलाइ गरेको बालुवाटार निकटका नेकपाका नेताहरूको भनाइ छ । तर, मंगलबारको बैठकबाट भने पार्टी एकीकरण प्रकृया अगाडि बढ्ने देखिएको छ ।
ओलीले नेकपाको समायोजन गर्न खोजेका थिए । तर, प्रचण्डले नै कहिले माधवकुमार नेपाल, कहिले बामदेव गौतम, कहिले झलनाथ खनाललगायतका नेताहरूलाई उचालेर विवाद गराउने गरेको नेताहरूले बताएका छन् ।