तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइनफ्लुबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । साढे चार हजारभन्दा धेरै बिरामी छन् । बिरामीमध्ये २५ प्रतिशतमा इन्फलुएन्जा लक्षण देखिएको छ ।स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रण भइरहेको दाबी गरे । पछिल्लो समय प्रकोपग्रस्त क्षेत्रमा नयाँ बिरामीको संख्या घट्दै गएको र अन्य स्थानमा फैलिन नदिन थप सतर्कता अपनाइएको उनले बताए । जाजरकोट प्रकोपबारे बुधबार संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले मन्त्री अधिकरीसित जानकारी लिएको छ । चैत्र १८ देखि जाजरकोटमा फैलिएको महामारीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । बिहीबार मौसमी फ्लूका कारण ढिमे– ५ खुर्पा का ५५ वर्षीय चमारे रावल र अछानी ३ की ५६ वर्षीय अम्वा जैसीको मृत्यु भए पछि मृत्यु हुनेको संख्या ३० पुगेको हो ।
पाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित भएका रावल र जैसीको उपचार अभावमा बिहीबार मृत्यु भएको स्थानीय कालीप्रसाद थापाले बताए । महामारीवाट निकै प्रभावित पैंक गाविससंग सिमाना जोडिएको ढिमेमा सरेको महामारीका कारण सयौं विरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस पछि महामारीवाट मर्नेको संख्या ३० पुगेको छ । गत हप्ता देखि ढिमेमा पनि महामारीको रुप देखिएको हो ।
प्रकोप नियन्त्रणका लागि मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य, गृह, र रक्षा मन्त्रालयको सचिव सदस्य हुने समन्वय समिति बनाइएको मन्त्री अधिकारीले बताए, आजको दैनिकमा खबर छ ।