(मोहन दुवाल)- साहित्य प्रस्ट हुनु नै पर्छ जनता जगाउने
कसरी होला यो देशबाट भाइमारा भगाउने।
उपरोक्त कविताका हरफहरू नै आफ्नो साहित्यिक परिभाषा भन्न रुचाउने कवि केवलपुरे किसानले जन्मेपछि केही गर्नुपर्छ, अझ स्पष्ट भनौं, देश र जनताका लागि केही दिनुपर्छ भन्ने गर्दछन्। जनताका लागि लेख्ने र जनभाषामा लेख्ने साहित्यकारहरू मन पराउने यिनले फूलको रङ्ग मनपर्छ र भोक लागेको बेलामा खाना रुच्छ भनी नयाँ ढङ्गको विचार सुनाउने गर्छन्। जीवनसँगिनी सावित्रीले छोडेर गएपछि विह्वल भएका कवि किसानले उनीप्रतिको आफ्नो भावनालाई ‘आँसुको पोखरी’ शोककाव्यमा अनुभूति पोखेका छन्। कवि किसानले साहित्यमा यस्तो अभिमत व्यक्त गरेका छन्– ‘साहित्य झुपडीहरूलाई हेर्ने चश्मा हो। जनताका समस्या, सुख–दुःखका मर्महरू साहित्यमा आउनुपर्छ। जनताका व्यथाहरू समेटेर सरल भाषामा लेखिएको साहित्यलाई म उत्कृष्ट साहित्य ठान्दछु। साहित्यकारहरू जनताप्रति उत्तरदायी हुनै पर्छ।
सादा जीवन उच्च विचारका धनी कवि केवलपुरे किसान देख्दैमा अति सरल, सामान्य स्वभावका व्यक्तित्वका रूपमा चिरपरिचित छन्। कवितामा नै धाराप्रवाह विचार स्फुरण गर्न सक्ने, सही भावना र चोखो चेतनाका सचेत कवि किसानले जनताकै मर्म र व्यथामा सहानुभूति पोखेर थुप्रै कविताहरू पोखेका छन्। त्यसैले उनी जनताकै पक्षमा, जनताकै भावनालाई समेटेर आफ्नो कवितामा मार्मिक ढङ्गले विचार सम्प्रेषण गर्न खोज्ने चेतनशील कविका रूपमा प्रगतिशील समाजमा प्रख्यात छन्। देशलाई दुख्दा देशभक्त भएर, जनताको मन दुख्दा क्रान्तिकारी उत्सर्गहरू मनमा र आँखामा राखेर कविताका हरफहरू गुनगुनाइरहन सक्षम प्रतिभाशाली देशभक्त कविकै नाम हुन् केवलपुरे किसान अर्थात् देवीप्रसाद पौडेल।
कवि किसानले चार वर्षको छँदा बुबाको अकस्मात् मृत्यु भएको पीडा र नौ वर्षको हुँदा आमाको देहावसानले पु¥याएको चोट पनि भोगेको देखिन्छ। जेठाबाका घरमै बसी हुर्केका यिनले धेरै दुःख–कष्ट भोगेर घरमा नै कर्मकाण्डको र पछि गाउँकै भाषा पाठशालामा वेद, कौमुदी, हितोपदेश एवम् पञ्चतन्त्रको अध्ययन गरी आफूलाई ज्ञानको भोकबाट मुक्त गर्ने कार्यमा लागेको देखिन्छ। यसरी लड्दैपड्दै वि.सं. १९९७ सम्म नै आफ्नै गाउँ–घरमा दुःख–कहरका दिन र रातहरू यिनले गुजारेको देखिन्छ। पछि मात्र यिनी १५ वर्षको छँदा रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना भएर काठमाडौंबाट नै वि.सं. २००० मा प्रथम परीक्षा उत्तीर्ण गरेका हुन्। पूर्वमध्यमासम्मको परीक्षा निकै कष्टसाध्य ढङ्गले जीवन गुजारेर उत्तीर्ण गरेको देखिन्छ।
वि.सं. २००४ को जयतु संस्कृतम् आन्दोलनमा सक्रिय सहभागिता जनाएबापत् भूमिगत बस्न वनारस पुग्न बाध्य कवि किसानले २००५ सालतिर युगवाणी पत्रिकामा कविता छपाएर कविता यात्रामा देखा परेका हुन्। २००५ सालदेखि हालसम्म पनि कविता लेखनमा सक्रिय कवि किसानले वि.सं. २००८ देखि नै जनताकै पक्षमा, देशकै दर्दमा आफ्ना कविताका हरफहरू लिएर देखा परेका हुन्। भन्नलाई बाँकी नराख्ने, स्पष्टवक्ताका रूपमा प्रख्यात कवि किसानले कविताकै माध्यमबाट जनताका ढुकढुकीहरू प्रभावकारी ढङ्गले गुनगुनाएका छन्। जनताकै भाषामा, जनताकै बोली र विचारमा आफूलाई समाहित गरेर जनताकै लागि भनेर कविताका पङ्क्तिहरू कोर्न र सुनाउन रुचाउने कविले सत्ताधारीहरू अर्थात् शासकहरूलगायत एक मुठ्ठी चुसाहा वर्गलाई जनताको कोटीमा कहिल्यै राख्न रुचाएनन्। उनको परिभाषामा जनताको परिचय हो– बहुसंख्यक शोषित पीडित जनता।
प्रगतिवादी चिन्तन वाक्यमा घोली कवितात्मक अनुभूतिमा सम्प्रेषण गर्न सिपालु कवि किसानले झ्याउरे लय छन्दमा सजिलो भाषामा लोकलयलाई टिपेर जनजीवनका दुःख र पीडाहरूलाई कवितामा पोख्न सिपालु भएकै कारणले पनि सर्वसाधारण जनमनले उनलाई रुचाएका छन्। हालसम्म यिनका प्रकाशित पुस्तकहरूमा बाघ आयो नेपाल नछो, समातेर पछार, छिःछिः, संघर्षको ठीक गर, केवलपुरे किसानका गीत र कविताहरू, बोको खस्यो, शङ्कैशङ्का कविता सङ्ग्रहहरू प्रकाशित छन्। लामो समयदेखि कविता लेख्दै आएका कवि किसानले कवितामा नै आफ्ना सबै प्रकारका भावना पोखेका छन्।
वि.सं. १९८३ चैत्र २९ गते बागमती धादि· जिल्लाको लामिडाँडा केवलपुरमा जन्मेका देवीप्रसाद पौडेल जीवनका ७९ औँ वर्षमा प्रवेश गरी काठमाडौंस्थित सीतापाइलामा एक्लै जस्तो रहेर पनि सन्तोष बोकेर बाँचेका छन्। केही वर्षअघि मात्र जीवनसँगिनीले साथ छोडेर गएका यिनलाई छोरा–छोरीलगायत नाति–नातिनाले प्रेममय वातावरण दिएर जीवनपथमा साथ दिएका छन्। जीवनका थुप्रै क्षणहरू दुःख र पीडामा गुजारेका यिनले हली–गोठालो भएर, घरमा काम गर्ने केटा भएर, भान्छे भएर, अर्काको आधार र आशिषमा जीवन गुजारेका छन्। अनुभव र परिवेशबाट नै चोखो साहित्यको सिर्जना हुन सक्छ भनी साहित्यकै वास्तविक अर्थ बताउन खोज्ने कवि किसानले जीवनका थुप्रै क्षणहरूमा खेतबारी, वन–जंगल चहारेर जीवनका मूल्यहरू बटुलेका छन्।
गोकुल साहित्य पुरस्कार र कृष्णमणि साहित्य पुरस्कारबाट पुरस्कृत भइसकेका कवि किसानलाई जनमत साहित्यिक प्रकाशनले जनमत वरिष्ठ साधक सम्मान र प्रगतिशील लेखक संघ, नेपालबाट प्रगतिशील कविका रूपमा सम्मान दिइसकेका छन्। युद्धप्रसाद मिश्र प्रकाशन तथा पुरस्कार गुठीका अध्यक्षसमेत रहिसक्नुका साथै कवि आफैंबाट सिर्जना गरिएको देवीप्रसाद गुठीका पनि अध्यक्ष भई यिनले सेवा पु¥याइसकेका छन्। पछि यिनले रु. ५०,०००।– नगद जनमत प्रकाशनलाई प्रदान गरी केवलपुरे–जनमत सम्मानका संस्थापक भई, जनमतका वरिष्ठ मानार्थ संरक्षक भई नेपाली साहित्यलाई टेवा पु¥याइदिएका छन्। गाउँकै स्कुलमा केही वर्ष शिक्षण सेवा पु¥याइसकेका यी कविले साहित्य र राजनीतिमा पनि जनताकै पक्षमा लागेर आफूलाई निःस्वार्थी सेवकका रूपमा पेस गरेका छन्। बुढेसकाल भोग्दै गरेका वृद्ध कवि किसानले कहिल्यै पनि आफूलाई निर्बल र अशक्त सम्झेर जीवनपथमा पलायन हुन चाहेनन्। यस्तै सोचका सबल कवि भएको कारणबाट नै उनका कवितामा आस्था र विश्वासका ऊर्जाहरू, प्रकाशका पुञ्जहरू, जनताप्रतिका समर्पणका भावहरू र देश तथा जनताप्रतिका उच्छवासहरू पङ्ति–पङ्तिमा उजागर भएका छन्।