बीबीसी – जलस्रोतको विषयमा नेपाल र भारतको सम्बन्ध कहिल्यै सहज भएन । विवादास्पद अन्तरसीमा जलव्यवस्थापन सन्धिहरू – कतिपय त दशकौँ पुराना – तथा नयाँ आयोजना सुरु गर्न हुने अन्तहीन ढिलाइ यसका निम्ति जिम्मेवार छन् ।

तर पछिल्ला समयमा दुई देशको सम्बन्ध बर्खायाममा अझ बिग्रन थालेको छ । यस वर्ष बाढीले सीमाको दुवैतिर एवं बाङ्ग्लादेशमा समेत दर्जनौँ मानिस मारिएका छन् । भारत र नेपालबीच झन्डै १८ सय किलोमिटर लामो खुला सीमा छ ।

नेपालबाट छ हजारभन्दा धेरै नदीनाला बगेर उत्तर भारत पुग्छन् । तिनले सुख्खा याममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान दिन्छन् ।

त्यसैले जबजब यी नदीमा जलप्रवाह अधिक हुन्छ तबतब बाढीको पानीले नेपाल र भारतका समथर भूमिमा विनाश ल्याउँछ । हालसम्म हुने गरेको त्यही हो ।

तर पछिल्ला वर्षमा नेपालपट्टिको भूभाग नै अधिकांश डुबानमा पर्न थालेको छ । नेपालका अनुसार सीमामा बनाइएको बाँधजस्ता संरचनाको अवरोधले बाढीको पानी स्वाभाविक रूपमा भारततर्फ बग्न नपाएका कारण यसो हुन थालेको हो । दुई वर्षअगाडि पूर्वी नेपालमा गरिएको अनुसन्धानमा बीबीसीले भारतीय क्षेत्रमा बाढीको पानी रोक्ने किसिमका संरचना बनाइएको देखेको थियो ।

त्यो उही ठाउँ हो जहाँ निर्माण गरिएको तटबन्धलाई लिएर नेपालले आपत्ति जनाएपछि दुवैतर्फका स्थानीय बासिन्दाबीच झडप भएको थियो।नेपाली अधिकारीहरूले झन्डै १० वटा त्यस्ता संरचना रहेको र त्यसका कारण नेपालको दशौँ हजार हेक्टर जग्गा डुबानमा पर्ने गरेको बताएका छन् ।

भारतीय अधिकारीहरूले ती संरचनाहरूलाई सडक भन्ने गर्छन् । तर नेपाली विज्ञहरूले चाहिँ ती सीमावर्ती क्षेत्रमा रहेका भारतीय गाउँहरूलाई डुबानबाट जोगाउन बनाइएका तटबन्ध भएको बताउँछन् ।

सीमावर्ती रौतहटको गौर अघिल्लो हप्ता तीन दिन डुबानमा पर्‍यो र त्यहाँ अधिकारीहरूले झडप हुनसक्ने लख काटे । “ठूलै सकसपछि भारतीय तटबन्धको पछाडिपट्टि रहेका दुईवटा ढोका खुला गरिए र त्यसले हामीलाई सहयोग गर्‍यो,” सशस्त्र प्रहरी बलका उपरीक्षक कृष्ण ढकालले बीबीसीसँग भने । भारतीय अधिकारीहरू प्रतिक्रिया दिन उपलब्ध भएनन् ।

दुई देशहरूले यस विषयमा वर्षौँदेखि बैठकहरू गरिरहेका छन् तर अहिलेसम्म अवस्था खासै फेरिएको छैन । अधिकांश नेपाली वार्ताकार तथा कूटनीतिज्ञहरूले यो विषय आफ्ना भारतीय समकक्षीहरूसँग दह्रो गरी उठाउन नसकेको भनेर आलोचना खेपेका छन् ।

भारतले ब्यारेज सञ्चालन गर्छ


जब कोशी र गण्डकी जस्ता गङ्गाका ठूला सहायक नदीहरूमा बाढी आउँछ, त्यसले भारतको पूर्वी राज्य बिहारमा सबैभन्दा बढी असर गर्छ । र, कोशी ब्यारेजका ढोकाहरू खोलिदिएको र तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई जोखिममा पारिदिएको आरोप नेपालमाथि बारम्बार लगाइने गर्छ ।

तर नेपालमा रहे पनि दुवै नदीमा रहेका ब्यारेज सञ्चालन भारतले गर्ने गर्छ । सन् १९५४ मा हस्ताक्षरित कोशी र सन् १९५९ मा हस्ताक्षरित गण्डक सम्झौताले भारतलाई त्यस्तो अधिकार दिएको हो ।


ती ब्यारेजहरूको निर्माण भारतले विशेषत: बाढी नियन्त्रण सिँचाइ र जलविद्युत् उत्पादनका लागि गरेको थियो । तर स्थानीय समुदायलाई खासै लाभ दिएको नदेखिएकाले तिनीहरू नेपालमा विवादित छन् ।

तर भारतीय सरकारले त्यसलाई अन्तरसीमा जलसम्बन्धी सहकार्य र व्यवस्थापनको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको छ । कोशी ब्यारेज मात्रैका ५६ वटा ढोका छन् । प्रत्येक चोटि बर्खायाममा कोशीको पानी खतराको तहमा पुग्दा नेपाली अधिकारीहरू भारतले सबै ढोका खुल्ला नगर्दा नेपाली बस्तीहरू जोखिममा परेको भन्दै आलोचना गर्छन् ।

‘बिहारको दु:ख’ भनेर लामो समयदेखि परिचित कोशी नदीको बाढीले कैयौँ पटक ठूलो धनजनको क्षति गराएको छ । सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएका थिए भने नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएका थिए ।

अहिले ब्यारेज निर्माण भएको ७० वर्ष भएको छ र ठूलो बाढीले त्यसलाई क्षति गराउने चिन्ताहरू पनि व्यक्त हुने गरेका छन् । भारतले ब्यारेजको उत्तरमा बाँध बनाउने तयारी गर्दै आएको छ जुन नेपाली भूमिमा नै निर्माण गरिनेछ।


नेपालका धेरै नदीहरू जटिल पर्यावरण र जोखिममा परिसकेको चुरे पर्वत शृङ्खला हुँदै बग्ने गरेका छन् । ती पर्वतहरूले कुनै बेला नदीको जल प्रवाहलाई नियन्त्रण गर्थे र भारत र नेपालमा बाढीले ल्याउन सक्ने क्षतिलाई कम गराउँथे । तर वन विनाश र भू-उत्खननले उक्त पर्वतलाई अस्थिर बनाएको छ ।

हालैका वर्षमा निर्माण क्षेत्रमा देखिएको तीव्र वृद्धिका कारण नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्ने क्रम निकै बढेको छ। भारतको उत्तर प्रदेश र बिहारका पूर्वाधार उद्योगहरूले पनि सो क्षेत्रका प्राकृतिक स्रोतको विनाशलाई प्रोत्साहन गरिरहेका छन् । र, यी प्राकृतिक रक्षाकवचहरूको विनाशसँगै बर्खायामका बाढीहरू नियन्त्रण बाहिर पुगेको अधिकारीहरू बताउँछन् ।

केही वर्षअघि एउटा बहुचर्चित संरक्षण अभियानको घोषणा गरिएको भएपनि त्यो त्यसै सेलाएको थियो। अहिले प्राकृतिक स्रोतको दोहन भयावह तहमा पुगेको छ । उक्त क्षेत्रको पर्यावरण नेपालको अन्नभण्डारका रूपमा परिचित तराईको भविष्यका लागि मात्र नभई भारतको उत्तर प्रदेश र बिहारका लागि पनि महत्त्वपूर्ण रहेको छ।

वनविनाश र उत्खनन नियन्त्रण नगरेर नेपालले बाढीको जोखिम थप बढाएको भारतको आरोप छ । अहिले जलवायु परिवर्तनले बर्खा स्वय‌म्‌लाई अनिश्चित बनाउँदै गर्दा यी दुई छिमेकीबीच विद्यमान मुद्दाहरू अझ पेचिलो बन्नसक्ने विज्ञहरू चेतावनी दिन्छन् ।

बीबीसी नेपालीबाट सभार