काठमाण्डौं – अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन् ।

‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्, ‘मनसुनका बेला हो, वर्षा त हुन्छ नै, तर अब पहिलेजस्तो अविरल वर्षा हुने सम्भावना छैन ।’ न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ । तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ ।

उक्त रेखा नेपालमै रहेका बेला लगातार वर्षा भएको वा हुने मौसमविद् बताउँछन् । यसअघि न्यून चापीय रेखा नेपालमै थियो भने न्यून चापीय क्षेत्र पनि सक्रिय थियो। यी दुवै प्रणाली सक्रिय रहँदा अविरल तथा भारी वर्षा भएको हो । जसका कारण देशमा बाढीपहिरो आएर ठूलो जनधन क्षति भयो ।

अब भने बाढीपहिरोको जोखिम कम रहेको मौसमविद् पोखरेलको अनुमान छ। तैपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता भने अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।

कस्तो छ आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ। अहिले पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

तर मनसुनी गतिविधि देशभर सक्रिय रहेकाले यही ठाउँमा पानी पर्छ वा भारी वर्षा हुन्छ भनेर किटान गर्न नसकिने मौसविद् पोखरेल बताउँछिन् । ‘त्यो यही काठमाडौं उपत्यकामा पनि हुन सक्छ वा तराईतिर पनि,’ उनले भनिन् ।