काठमाडौँ – सत्ता पक्षको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसद बैठक आउँदो साउन ८ गतेसम्मका लागि स्थगित गरेका छन् ।

विपक्षी नेपाली कांग्रेस तथा राजपाले संसदको नियमित कार्यसूचिलाई थाँति राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेका थिए । कांग्रेस र राजपाले संसदमा बाढी पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

तर सत्ता पक्ष नेकपा भने सो प्रस्तावमा छलफल गर्न सहमत भएन र सभामुख महराले बैठक साउन ८ गते सम्मका लागि स्थगित गरेका हुन् ।

विपक्षी दल कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखले फट्याईँ गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यस्तो गम्भीर र विपदका बेला सबै एक हुनु पर्ने थियो । तर सत्ता पक्ष त्यसका लागि इच्छुक देखिएन । सत्ता पक्षको आग्रहमा सभामुखले फट्याईँ गरे ।’

आफूहरुको प्रस्तावमा छलफल गर्न सभामुख सुरुमा सहमत भए पनि सत्ता पक्षसँग ‘डराएर’ बैठक नै स्थगित गरेको उनले आरोप लगाएका छन् । यस्तो गम्भीर विषयमा छलफल गर्न नमान्नु अचम्मको कुरा रहेको उनले बताए ।

यसअघि असार २४ गतेको बैठकमा कांग्रेस र राजपाले नेत्रविक्रम चन्द विप्लवका नेता कुमार पौडेलको ‘इन्काउन्टर’ का सम्बन्धमा संसदीय छानविन समिति बनाउने पर्ने माग गर्दै अवरोध गरेका थिए ।