काठमाडौं – अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ । ३० जना अझै बेपत्ता छन् ।
बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्
प्रहरीले जारी गरेको विज्ञप्तिमा बेपत्ता भएकामध्ये १८ जना पुरुष र १२ जना महिला रहेको उल्लेख छ । बाढीपहिरोका घटनामा परी ३८ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना पुरुष र १७ जना महिला रहेको प्रहरीले जनाएको छ। प्रहरीले १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार भएको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार भोजपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पाँचजनालाई वर्षापछिको पहिरोले किचेको थियो । बाढी र पहिरोका कारण ओखलढुंगामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । खोटाङमा ३ ,उदयपुर र भापामा २-२ जनाको मृत्यु भएको छ । सुनसरी, इलाम र पाँचथरमा १-१ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बेपत्ता हुनेको संख्या ८ पुगेको छ । मोरङबाट मात्र ३ जना बेपत्ता भएका छन् । मोरङको कानेपोखरी, जहदा र कटहरी गाउपालिकामा १–१ जना बाढीले बगाएर बेपत्ता भएका हुन् । त्यस्तै इलाममा ३, झापा र सुनरसरीमा १–१ जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।