चितवन भण्डाराकी तारादेवीले खेल्ने र पढ्ने उमेरमा नसोचेको भार खेप्नुपर्यो। शारीरिक रूपमा परिपक्व नहुँदै र कानुनी रूपमा उमेर नपुग्दै परिवारले विवाह गरिदिए। ६ कक्षा अध्ययनरत १३ वर्षीया तारादेवीको छिमेकी गाउँका ३३ वर्षीय युवासँग विवाह भयो। विवाहसँगै दुःख भित्रियो। छरछिमेकीहरूसँग बोल्दा, हाँस्दा,
छिमेकी भाउजूहरूसँग घाँस काट्न जाँदा पनि उनले हप्कीदप्की सहनुपर्यो। श्रीमान्ले ‘अरूसँग डुल्ने-हाँस्ने होइन, घरै बस्नुपर्छ’ भनेर थर्काउन थाले। थर गोप्य राखिदिन भन्दै उनले घरको व्यथा सुनाइन्। तारादेवीले भनिन्, ‘सोच्दै नसोचेका कुरा सहनुपथ्र्यो, सहँदै गएँ। १४ वर्षको उमेरमा छोरो जन्मियो, १६ वर्षमा छोरी।’ नेपालको कानुनअनुसार विवाह गर्न न्यूनतम उमेर १८ वर्ष नपुग्दै उनी दुई सन्तानकी आमा भैसकेकी थिइन्।
किसान परिवारकी ताराले आफूले पढ्न नपाएको पीडाबाट छोराछोरीलाई मुक्त राख्ने उपाय खोजिन्। उनी भन्छिन्, ‘कमाइ पनि गरौँ, पढाउन पनि थालौँ भन्थेँ, तर गाँजा र रक्सीले मात्तिएर हिँड्ने श्रीमान्ले के मान्थे? उल्टै मलाई पढेर कसले के गरेको छ र? भनेर हप्काउँथे।’ श्रीमान्ले छोराछोरीलाई पनि वास्ता गर्न छाडेपछि उनले आफूलाई बदल्ने प्रयास गरिन्। डेढ वर्षकी छोरीलाई माइती राखी छोरा च्यापेर उनी काठमाडौं आइन्। कलंकीको सडकमा चियापसल थापिन् र पवित्रा नामकी साहुनीबाट कपडा ल्याएर त्यसमा बुट्टा भर्ने काम पनि थालिन्।
यद्यपि पसल र बुनाइको काम राम्रो भएन। उनले विदेश हान्निने योजना बनाइन्। तिनै पवित्रा साहुनीले एउटा म्यानपावर कम्पनीमा सम्पर्क गराइदिइन्। म्यानपावरले बन्दोबस्त मिलाइदियो लेबनान जाने। अर्को म्यानपावरले त्रिभुवन विमानस्थलबाट दिल्ली हुँदै लेबनान पठाइदिने भयो। ३० हजार रुपैयाँ खर्च गरेर अस्पतालमा ‘क्लिनिङ’ (सफाइ) काम गर्ने सपनाका साथ उनी जहाज चढिन्।
उनीसँगै लेबनान जानेमा अरू १३ जना नेपाली महिला थिए फरक-फरक कामका लागि। उनीहरूको दुःख पनि तारादेवीको भन्दा फरक थिएन। श्रीमान्सँग सम्बन्धविच्छेद भएको, बाबुले अर्की आमा ल्याएपछि घरको हेला खप्न नसकेर, पारिवारिक हिंसा खप्न नसकेर हिँडेको बताउँथे उनीहरू। एउटी महिला घरको चर्को आर्थिक समस्या र अर्की एक जना श्रीमान् अपाङ्ग भएर कमाउन विदेश जान लागेको बताउँथिन्। तारादेवी भन्छिन्, ‘अरूका पनि मेरै जस्ता समस्या रहेछन्। तीमध्ये कति त प्रेमविवाह गरेर घरले अस्वीकार गरेकाहरू पनि थिए।’
लेबनान पुगेपछि तारादेवीलाई विमानस्थलमा लिन एक जना ‘मेडम’ आइन् र उनको घरमा लगिन्। भोलि अस्पतालको काममा जाने सोचमा थिइन् तारा। तर, ती ‘मेडम’ले ‘अब तिमीले यहाँ (घरमा) काम गर्नुपर्छ’ भनिन्। तारादेवीलाई लाग्यो, ‘म अस्पतालको काममा आएकी हुँ, कसरी घरमा काम गर्ने?’ तर, त्यहाँ उनको आवाज सुन्ने कोही थिएन। ताराले कष्टका दिनहरू गुजार्दै ६ महिना बिताइन्। तारा भन्छिन्, ‘यतिसम्म हुन्थ्यो ‘ज्वरो आएर सुत्दासमेत ती ‘मेडम’ले बेडमै चिसो पानी खन्याइदिन्थिन्।’ उनले म्यानपावरलाई फोन गरिन् तर काम लागेन। आफ्नो भाइ, परिवार एवं कतारमा रहेका आफन्तलाई फोन गरेर उनीहरूको पहलमा नेपाल फर्किन्।
कानुनअनुसार कसैलाई पनि एउटा काम भनेर अर्को काममा पठाउनु मानव बेचबिखन हो। यस्ता क्रियाकलापमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनले २० वर्ष जेल तथा २ लाख रुपैयाँ जरिवाना तोकेको छ। वैदेशिक रोजगारीसम्बन्धी ठगीको मुद्दा एवं मानव बेचबिखन मुद्दा पीडितको तर्फबाट निःशुल्क रूपमा सरकारले नै लडिदिन्छ। यद्यपि जानकारी नपुगेर पीडित पीडितै छन्, ठग, तस्कर र दलालहरू उम्किएका छन्।
वैदेशिक रोजगारीका लागि मुख्यतः सङ्गठित क्षेत्र (कम्पनी) मा जानेभन्दा असङ्गठित क्षेत्र (घरेलु काम) मा जानेहरू धेरै समस्यामा परेका छन्। उनीहरू घरको दैलोबाट हिँडेदेखि नै ठग एवं दलालहरूको चङ्गुलमा फस्छन्। यस्ता महिलालाई राहदानी बनाउने बेलैदेखि दलालहरूले फसाउन थालिसकेका हुन्छन्।
खाडीमा घरेलु महिला कामदार जोखिममा परेको भन्दै सरकारले ‘घरेलु कामदारका रूपमा विदेश जाने कामदारलाई व्यवस्थित गर्ने कार्यविधि-०६७ बनाएर ०६९ साउन २४ गतेदेखि कुवेत, कतार, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबमा ३० वर्षको उमेर हदबन्दी तोकेको छ। घरेलु कामदारलाई श्रम ऐनले नसमेट्ने भएकाले अन्य कामको तुलनामा यो काम जोखिमपूर्ण मानिन्छ। घरेलु काममा महिलालाई पठाउन नेपाली दूतावासबाट करारनामा र भिसा अनिवार्य प्रमाणीकरण हुनुपर्छ। साउदीको रियादस्थित नेपाली दूतावासले घरेलु कामदार समस्यामा परेकाले कुनैको पनि प्रमाणीकरण नगरेको राजदूत उदयराज पाण्डे बताउँछन्।
खाडीमा उमेर हदबन्दी र साउदीको नेपाली दूतावासले कागजात प्रमाणीकरणसमेत नगर्ने भएकाले दलालहरूले कम उमेरका महिला कामदारलाई भारतीय बाटो वा नक्कली कागजात वा एयरपोर्टमा ‘सेटिङ’ मिलाएर पठाउने गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार ०६९/७० मा संस्थागत (कम्पनी) तर्फ १७ हजार २ सय ९७ र व्यक्तिगत (घरेलु काम) तर्फ १० हजार ४ सय १६ गरी जम्मा २७ हजार ७ सय १३ महिलाले श्रम स्वीकृत लिएका थिए। गत आर्थिक वर्ष वैदेशिक रोजगारमा गएका कुल ४ लाख ५३ हजार कामदारमध्ये पुरुषको संख्या ४ लाख २६ हजार छ। परदेशमा दुःखमा परेका महिलालाई फकाइफुल्याई फेरि अर्कातिर लगेर फसाउने गिरोह पनि उत्तिकै सक्रिय छ। केही त्यस्ता घटना नेपाली दूतावास, कुवेतकी श्रम सहचारी सिर्जना तिवारीले पनि फेलापरेकी छिन्। दूतावासको सेल्टरमा दुःख पाएका १ सय २५ महिलाले आश्रय लिएका त छँदै छन्, बाहिरबाट दुःख पायौँ भनेर खबर गर्नेहरूको संख्या पनि उत्तिकै छ। ‘पीडामा परेका महिलालाई घरबाट भगाउने, यौन पेसामा लगाउन खोज्ने र अलपत्र बनाएर छाड्नेसम्म गर्छन्,’ श्रम सहचारी तिवारीले सुनाइन्, ‘यता र उताका मानवतस्कर एवं दलालहरूलाई कारबाही नगरेसम्म यस्ता घटना कम गर्न सकिँदैन।’