काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्। बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।
त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको पनि समितिले जनाएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको संख्या हालसम्म भएको जनधनको क्षतिका विषयमा जानकारी गराएका थिए ।
उनले उनले ३२ जना वेपत्ता भएको, २९ जना घाइते भएको र २ हजार ६३ जनालाई उद्दार गरिएको पनि गृह मन्त्रालयको आइतबार अपरान्हसम्मको तथ्यांकमा उल्लेख गरिएको छ। गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए। तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएको छ ।