सुरुवात गर्छु बाल्यकाल बाट| जब राम्रो संग अक्षर चिन्ने भैयो त्यति बेला देखि नै पढाइयो अनि घोकाइयो, हामि बिर नेपालीका सन्तान, कसै संग झुक्न जान्दैनौ, देशको लागि ज्यान दिन तयार छौ| खोट मेरो देशको शैक्षिक प्रणालीमा थियो कि म मा ऐले सम्म त्यति राम्रो संग ठम्याउन त सकेको छैन तर पनि आज सम्म त्यहि रटान नै जारि छ| मात्र भाषा बद्लेको छ, अलि अलि अंग्रेजी सिकेपछि भन्न थालेको छु, “आइ एम प्राउड टु बि नेपाली”| परदेशमै भएपनि राष्ट्रियताले आज पनि ओतप्रोत छ मेरो छाती, तर राष्ट्रका लागि चाही सिन्को सम्म भाचेको छैन| “आइ एम प्राउड टु बि नेपाली” येही एउटा कथनले मेरो राष्ट्रीयता आज सम्म धानेको छ|
वाल्यकाल देखि तरुण हुदै युवा अवस्था सम्म आइपुग्दा मैले राष्ट्रियताका धेरै रुप देखेको छु मेरो देश मा र कतिपयमा त हिस्सेदार पनि भएको छु| एक पटक हृतिक रोशन भन्ने भारतीयले मलाई मन नपर्ने देश नेपाल हो भन्यो रे| भन्यो भनेन त्यो त ऐले सम्म थाह छैन तर त्यो हल्लाले मात्रै पनि मेरो छाती बालेर आयो| अनि राष्ट्रियताका नाममा बाटोमा टायर बालिएन कि चक्का जाम गरिएन? सार्बजनिक सम्पत्ति तोडफोड गरिएन कि शैक्षिक संस्थानमा पठन पाठन बन्द गराईएन? सब गरियो| अलि अलि आत्माले शान्ति पायो| देश को लागि केहि गरेको जस्तो पनि भान भएर आयो| मधेशी मुलका नेपालीहरुलाई पिटेर नै सिंगो भारत माथि विजय प्राप्त गरेको जस्तो लाग्यो|
आज आएर हेर्दा हाम्रो राष्ट्रियताको रटान अनौठो लाग्न थालेको छ| बेला बेला राष्ट्रियताको नाममा देखिने नेपालीहरुको आवेगको अर्थ मैले अब बुझ्न सारै नै मुश्किल हुदै गएको छ| कहिले कहिँ लाग्छ हामीमा राष्ट्रियताको नाममा खोक्रो आडाम्बर बाहेक केहि पनि बाकि नै छैन, कहिले लाग्छ हामि दोहोरो चरित्र देखाउने विश्वका एक मात्र प्रजाति हौ| के राष्ट्रियता को खोक्रो नारा फलाक्ने बाहेक व्यवहारमा हामि कहिँ राष्ट्रवादी छौ त?
कुनै पनि राष्ट्रको अश्तित्व रहन भूगोल, भाषा, पोशाक, संस्कृति, कला आदि को महत्वपुर्ण देन हुन्छ| र राष्ट्रियता भनेको पनि यिनै कुराहरुको संरक्षण र सम्बर्धन हो ताकी हाम्रा भाबी पुस्ताले हाम्रो पहिचान बुझुन| फलाकेर होइन यिनै कुरालाइ बचाउन सकियो भने मात्रै हाम्रो राष्ट्रको अस्तित्व चन्द्र सुर्य रहे सम्म रहन्छ| तर आज के हाम्रा कुनै पनि कामहरु यी कुराको संरक्षण खातिर भएका छन् त? यसको उत्तर नै हामिमा राष्ट्रियता छ कि छैन भन्ने उत्तर हो|
भूगोलबाट केलाउन सुरु गरौ अब| छेउछाउमा अत्यन्तै बिशाल छिमेकी छन् उनीहरु को गिद्देदृष्टि बाट बच्नु चानेचुने कुरा होइन| तर देशको भूगोल अरु आएर त बचाईदिदैन नि| त्यो भूगोलको रक्षा नेपाल सरकारले गर्नु पर्ने हो, बिदेशीको मिच्याई हुनु बाट बचाउनु पर्ने हो, र त्यो काम मा प्रत्यक नेपालीले सरकार को सहयोग गर्नु पर्ने हो| तर पनि दस गाजा मिचिएको मिचियै छ| धान्न जंग बहादुरले पिल्लर गाडेर गएछन नत्र हाम्रो सिमा कहाँ सम्म हो होइन त्यसको पनि ठेगान हुने थिएन| तर पनि आम नेपाली यो जिम्मेवारी बाट उम्किन सक्ने प्रशस्त कारण हरु हुन सक्छन, सरकार नै नालायक भएपछी एउटा नागरिकले केहि गरेर सिमा बच्ने होइन क्यारे|
दोश्रो भाषा हेरौ अब| २००१ को जनगणनाको तथ्यांक अनुसार नेपालमा ९२ भाषा छन् रे| तर बिडम्बना, हाम्रो देशको संबिधान सभाको बैठकमा मधेसी नेताहरु हिन्दीमा भाषण ठोक्छन| मानिलिउ नेपाली भाषा उनीहरुको मातृभाषा होइन, शोषकहरु कै भाषा हो तर किन उनीहरुलाई मैथली भोजपुरी, राजबंशी, थारु आदि भाषा आफ्ना भाषा जस्तो नै लाग्दैनन्| त्यो देख्ने नेपाली जसको मातृ भाषा नै नेपाली हो उसले पनि त्यो नेतालाई ठाडै “धोति” भन्ने आक्षेप लाइदिन्छ|भाषाको दुरावस्था येही सकिदैन, तिनीहरु त नेता भए राजनितिक चालको रुप मा जे गर्न नि सक्छन तर हाम्रो नेपाली भाषा बोलिने समाजकै उदाहरण लिउ एक चोटी| बच्चालाई कपुरी क भन्दा अगाडी ए बि सी डी सिकाइन्छ| अंग्रेजीको अगाडी नेपाली भाषा दोस्रो दर्जाको नै ठहरिन्छ आज नेपालको जुन सुकै तहमा पनि| बाउ आमाले आफ्नो बच्चा अंग्रेजी फरर बोलेको सुन्न मन पराउछन| एक चोटी सदर चिडियाखाना घुम्न जादा एउटी आमा आफ्नो बच्चालाई घुमाउदै गरेको भेटे| बच्चाले बादर देखेर भन्यो “मम्मी बादर!” त्यो सुनेर आमाले छोरालाई सिकाइन बाबु मंकी भन्नु पर्छ| जति अघि बढ्दै गए त्यति उस्तै नाम सुन्दै गए राइनो, टाइगर आदि| त्यो बेला मलाई नि रमाइलो लाग्यो, पढे लेखेकी आमा रैछिन आफ्नो बच्चालाई सानै देखि अंग्रेजी सिकाउदै छिन| क्या गजब! तर त्यस्ता कुराले हाम्रो आफ्नो भाषामा पार्न सक्ने खतराको मैले अबमुल्यन गर्न पुगेछु सायद| लाग्थ्यो, नेपालीलै नेपाली किन सिकाउनु पर्यो र आफै सिकिहाल्छ नि सजिलै| तर होइन रहेछ, आफ्नै भाषा भए पनि राम्रो संग सिक्नु पर्दो रहेछ| त्यो मंकी काण्डले त्यो बच्चाको मानसिकतामा कस्तो असर पर्यो होला आज बल्ल सोच्दै छु| अंग्रेजी नेपाली भन्दा ठुलो स्तरको भाषा हो भन्ने मानसिकता समाज र परिवारले हाम्रो मगजमा कसरि नजानी नजानी भरिरको छ त्यसको उदाहरण रहेछ त्यो त| त्यसैले त आज “आमा” “बुवा” हजुरआमा, दिदि दाई भिनाजु जस्ता शब्दलाई क्रमश मम, ड्याड, ग्र्यानी, सीस, ब्रो, जिजु जस्ता शब्दले लगभग प्रतिस्थापन गरिसके| आज नेपाली समाजमा सुद्ध नेपालीमा बोल्न सक्ने मानिसहरु अत्ति नै कम भेटिन्छन, नत्र आज सबै नेपालीले प्रयोग गर्ने भाषा नेपान्ग्रेजी नै हो| एदी कहिँ कतै कोहो शुद्ध नेपाली बोल्दै गरेको भेटियो भने उसलाई हाम्रै समाजले पाखे को बिल्ला भिराइदिन समय लगाउदैन| पैले पैले एस एल सी परिक्षामा बिध्यार्थिहरु अंग्रेजी र गणितमा बढी अनुत्तीर्ण हुन्थे आज टि बिषयलाइ नेपालीले पाखा लाइदिने बेला भैसकेको छ|
आज बिदेशी भाषाहरु हाम्रा प्रतिष्ठा संग जोडिन थालिसके| अंग्रेजी फरर बोल्न सक्ने को शान नै बेग्लै, अनि संसदमा हिन्दि बोल्नेको पनि शान के नै कम छ र| भाषा बिगार्नुमा हाम्रो शैक्षिक् प्रणालीको भन्दा ठुलो दोष नेपालका संचार माध्यमहरुको छ| टेलिभिजिन र रेडियोमा पराए कार्यक्रमहरु येही नेपान्ग्राजी भाषा मै चलाइन्छन| जुन संचार माध्यमले भाषाको संरक्षण गर्नु पर्ने हो बिकास गर्नु पर्ने हो त्यसैले नै भाषालाई अपाङ्ग बनाउन उद्धत छ| किनकि नेपालमा नेपंग्रजिमा कार्यक्रम चलाउने आर जे र भिजे को चुरीफुरी र शान नै अर्कै छ|
अबको फेसनको दुनियामा पोशाक को कुरा गरेर गिद्धि चाइ नगरौ क्यारे| किनकि पोशाक र भाषाको नियति उस्तै छ हाम्रो देशमा|
संस्कार र कुसंस्कार को बिचमा त्यति नै फरक छ जति फरक औषधि र लागूऔषध (ट्याब) मा छ| कुनै रोग लागेर चिकित्सक कहाँ जचाएर उसले भनेको मात्रमा प्रयोग गर्यो भने त्यो औसधि बन्छ नत्र ऐले को भाषामा झ्याप हुन प्रयोग गरे लागूऔषध| म एउटा राम्रो संस्कारको उदाहरण लिन्छु जुन ऐले आएर एउटा घिनलाग्दो कुप्रथा बनेको छ, दाइजो प्रथा| परापुर्वकालमा छोरीहरुलाई अंश दिने चलन थिएन| त्यसैले घरकोले दाइजो को रुप मा उसलाई घरबाट बिहे गरेर पठाउने बेला अंश दिन्थे| बाबु आमाको सम्पत्ति हुदा हुदै छोरीले गरिब संग बिहे गरेकै भरमा दुख पाउनु हुदैन भन्ने मान्यता अनुशार उसको बिहेमा दाइजो दिएर पठाउने चलनको बिकाश भएको थियो| समानता को हिसाबले हेर्ने हो भने एउटा ज्यादै राम्रो प्रथा थियो त्यो| तर पछी त्यहि दाइजो को नाम मा कति चेली घर बाट निकालिए, कति जिउदै जलाइए, कति अंगभंग भए होलान त्यसको लेखा जोखा छैन| त्यसैले त आज दाइजो प्रथाको नाम सुन्ने बित्तिकै घिन लागेर आउछ र आफ्ना पुर्खाहरुले यो कस्तो चलन चलाए होलान भनेर उनीहरुलाई गालि गर्न पनि पछी परिन्न| हो ठिक त्यसै गरि आज हाम्रा कैयौ संस्कार कुसंस्कार बन्दै गैराखेका छन्| र ति संस्कार लाइ कुसंस्कार बनाउन हाम्रो ठुलो योगदान रहदै आएको छ| दाजु भाइ, छर छिमेक, इष्टमित्र सबै भेटघाट हुने, रमाइलो गर्ने, ठुला बडाको आशिर्वाद थाप्ने चलन हो दशैँ, अब त्यो चाड जाड रक्सी खाने, जुवा तास खेल्ने चाड को रुपमा बिकसित हुदै छ, यसै किसिमले यो चाड मनाउदै गइयो भने यो चाड कुप्रथा बन्न ५० वर्ष नि नलाग्ला| यसै गरि तिहारमा देउसी भैलो को चन्दाआतंक, शिवरात्रि मा गाँजा आतंक, तीजको त कुरै छोडिदिउ, एक दिन को चाड एक महिना सम्म रक्सी र मासु खाने चाड बनिसक्यो| आजकल तीजमा तीजका गीत कम र बलिउडका गीत बढी घंकिन्छन| छिट्टै यो चाड पनि महिलाहरुको एक मिहिने रक्सी खाएर “वाइल्ड” भएर बेल्ली डान्स गर्ने चाड बन्ने हो कि जस्तो छ|
अब कलाको कुरा गरौ| कला धेरै किसिमका हुन्छन मा यहाँ संगीतको कुरा मात्रै गर्छु| एउटा सामान्य नेपाली किशोरलाइ सोधौ उसलाई कस्तो संगीत मन पर्छ भनेर| रक, ज्याज, मेटल, हिप होप, येस्तै येस्तै उत्तर आउछन| यिनी बीच को फरक सोधौ त्यो पनि सजिलै भन्ने क्षमता राख्छ| तर उसैलाई रोइला, देउडा, ठाडो भाका,झ्याउरे आदिको बारेमा सोध्यो भने प्राय अनभिज्ञता नै दर्शाइदिन्छ| गल्ति उसको होइन, गल्ति त उसको हो जसले उसलाई सिकाउनु पर्ने थियो हाम्रा लोक भाकाहरु कस्ता कस्ता छन् भनेर| जसले गफ मा त उसलाई नेपाली हुनु मा गर्ब छ भन्न सिकायो तर नेपाली हुनु को अर्थ के हो र हाम्रो पहिचान के हो भन्ने कुरा कहिल्यै सिकाउने चेष्टा सम्म गरेन|
त्यसैले हामीले आफुलाई जति राष्ट्रवादी ठानेपानी हामीले व्यवाहारमा त्यो कुरा देखाउन सकेका छैनौ| विदेशको ठाउमा मेरो एक बिदेशी मित्र संग म दैनिक उपभोग्य बस्तुहरु किन्नका निम्ति पसलमा गएको थिए| उ पनि बिद्यार्थी म पनि बिद्यार्थी| दुवैले पैसा विचार गरेर खर्च गर्नु पर्ने| त्यसैले जुन सामान सबै भन्दा सस्तो छ त्यै किन्ने चलन| उसले कुखुरा किन्ने भन्यो र कुखुराको मासु राखेको फ्रिज तिर हेर्न गइयो| किलोको लगभग ३०० नेरु पर्ने चै ति मध्ये सबै भन्दा सस्तो थियो, उसले पनि सुरुमै त्यहि समाएर हेर्न थाल्यो, अनि फेरी अर्को पनि हेर्यो जसको मूल्य प्रतिकिलो ३२० नेरु जति पर्थ्यो| जुन हेरे पनि किन्न चै सबै भन्दा सस्तो नै किन्छ यसले भन्ने कुरामा ढुक्क थिए म| तर तेस्को ठिक बिपरित उसले महँगो चाही छान्यो, मैले प्रश्न गरे यो भन्दा त अर्को सस्तो छ अनि किन यो उठाको नि? उसको उत्तर: हेर न यो त यहि मेरै देशमा बनेको रैछ, र अर्को सस्तो भएपनि अर्को देशको रैछ| मेरो देशको भएपछी थोरै महँगो हालेर किन्न के भो र| उसको उत्तरले मेरो दिमागमा केहि हद सम्म राष्ट्रियता के रहेछ भन्ने घुस्यो| उसले म संग कहिल्यै उसको राष्ट्रियता कति छ भन्ने बखान गरेन तर व्यवहारले स्पष्ट पार्यो| अनि सम्झे नेपालमा केएफसी अगाडी को लाइन र हामि नेपालीको राष्ट्रियता|
त्यसैले राष्ट्रियता शब्दमा होइन व्यवहारमा हुदो रहेछ| हृतिक्ले येसो भन्यो रे भनेर पहिले सडकका रैलिंग भाच्ने, चक्काजाम गर्ने अनि शुक्रबार बिहान रिलिज भएको नया हिन्दि फिल्म को टिकेटको लाइन बस्नु राष्ट्रियता होइन रहेछ| देशमा भाइ भाइ, पहाडी र मधेसीको नाममा लडाई गर्ने अनि सामाजिक संजालमा “बुद्ध वाज बर्न इन नेपाल” भनेर फलाक्ने पनि राष्ट्रियता होइन रहेछ| थाईल्याण्ड बाट आयातित कपडा लाउने, केएफसीमा खानलाई लाइन बस्ने अनि नेताले देश बेचे भनेर दिन बिताउनु नि रहेनछ राष्ट्रियता| राष्ट्रियता त आफ्नो देश को उत्पादनलाई कदर गर्नु, आफ्ना बाल बच्चा लाइ आफ्नो पहिचान को भाषा भेष र संस्कार सिकाउनु रहेछ| ताकी हामि भन्दा पछाडिको पिढिले हाम्रो पहिचान सगर्ब आफ्ना भाबी सन्ततिलाई हस्तान्तरण गर्न सकुन|| इति|
-जीवन चरित्र (Diary of The Dead Soul)