काठमाडौं – नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ ।
पार्टीको आसन्न महाधिवेशन लगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्ट पारेका हुन् । उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतबार पनि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले भातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले बैठकमा केन्द्रिय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायर लगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेका पनि बताए ।
असार २२ गतेबाट सुरु भएको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।