10655289_852506421434373_3265843927809065323_o

युबराज गुरुङ

जीवनको ४६ औँ बर्ष पार गरी रहँदा झण्डै एक तिहाइ अर्थात १५ बर्ष भन्दा बढि मस्त मुद्रामा बिताएको मेरो ओछ्यान, बल्ल आज लेखनिको  बिषय बन्न सक्यो । परदेशी बासस्थान  अगाडिको उद्दान एकाबिहानै डोजरले उधिन्न थाले पछि निद्रा  खल्बलिएको मानसपटलमा  ‘ओछ्यान’ले  बिषय प्रबेश पाएको हो  ।  संखुवा सभा मादी मूल्खर्क गाउँको एउटा झुपडिमा जन्मिएको यो बयले आमाको च्यातिएको गुन्युबाट   शुरु गरेको ओछ्यान यात्रा कति औँ ओछ्यान तय गर्दै यहाँ सम्म आइ पुग्यो – कुनै लेखा जोखा छैन । तर चेतना तन्काएर फैलने सम्म सोच्न थालियो भने ओछ्यान यात्राको एउटा नटुँगिने रोमान्चकारी श्रिँखला पर्दाफास हुने रहेछ । संझनाको तरेलिमा बयली खेल्दै जाँदा ‘ओछ्यान’ बिश्राम गर्ने थलो मात्र हैन, करुणा, आलस्य, रोमान्स, श्रीजना, आबेग संबेग सबै सबैको ब्यबस्थापन हुने भर पर्दो थलो हो रहेछ भन्न जो सुकैलाई करै लाग्दछ ।

 

किशोरावस्थामा छँदा  गोठमा ब्याउने गाई रूङालो बस्दाको गुन्द्रिको  ओछ्यान र  दाउराको शिरानी सर्बाधिक अबिस्मरणिय  र चुनौतिपूर्ण त थियो नै, छर-छिमेकमा हुने भोज भत्तेर काम  कार्जेमा रात बिरात परालको कुन्युमा बिताएको ओछ्यानको अनुभूति आँफैमा अतुलनिय थियो र अझै छ पनि  । स्कूले जीवनमा डेरा गरेर बस्दा, बांसको भाटाको धरापयुक्त ओछ्यानको चुइकिने आवाज अहिले पनि प्रष्ट ठम्याउन सकिन्छ । भदौरे उखर्माउलो गर्मिको मध्य रातमा  बाह्रबिसे बजारको सानो ‘गेष्ट हाउस’मा उडुसले चौतर्फी आक्रमण गरे पछि घायल कायल हुँदै अगाडि सडकको किनारामा अबस्थित पाटिमा फराकिलो उत्तिसको बाकललाई ओछ्यान बनाएको क्षण – संभबत जीवनकै अप्रत्यासित र उदेक लाग्दो परिघटना थियो । उदेक र अप्रत्यासित यस अर्थमा कि त्यो ओछ्यान जिवित मानिसको लागि थिएन , रहेछ  –  त्यो ओछ्यान त दोभानको घाटमा लैजानु अघि स्वर्गबासमा यात्रा तय गरि सकेका म्रित शरीरहरुको  लागि क्षणिक बिश्राम गर्ने थलो पो । माघे सक्रान्तीताका  भोट खोला च्याम्ताङबाट काबिलाको लर्को संगै बरूण मेला पुगेर बिताएको पहिलो रात, लोकल सरुवाको हल्का तालमा बनमारा घारि माथि बिजय प्राप्त गरि खुला आकाशको छानो मुनी स्विकारेको त्यो ओछ्यान – कम्ति कहाली लाग्दो थिएन । त्यो कहाली लाग्दो ओछ्यानको साक्षी अरुण बरुण त हुने नै भए, बरुणमा झुन्डिएको कन्तबिजोगको झोलुङे पूल र छेवैको खाल्टोमा जमेको कालो दह – ठीक त्यही दह भन्दा सय मिटर ठाडो भिर माथिको बनमाराको ओछ्यान – संझदै  आङ सिरिंग हुने ।  चिचिला र नूम बिचको  तीन तले ओढारको माथिल्लो तलामा  सुतिरहेका बटुवाहरुलाइ तल्लो तलामा लखेट्दै भैरुङ् बाले मेरो लागि तयार पारी दिएको  नरम उन्युको ओछ्यान – आहा क्या आनन्दको थियो ।

 

ओछ्यानको इतिहाँस खोज्दै जाने हो भने मध्य युगिन ढुँगे युग अर्थात झन्डै ७७ हजार बर्ष क्राइष्ट पूर्व देखि द्क्षिण अफ्रिकाबाट  प्रचलनमा आएको पाईन्छ । ओढार र गुफाबाट  नै ओछ्यानको शुरुवाती  प्रयोग भएकोमा  पूरातत्वविदहरु एकमत देखिन्छन् । मानव सभ्यताको बिकासक्रम संगै ओछ्यानको आकार प्रकार र त्यसमा प्रयुक्त सामाग्रीहरुको पनि परिवर्तन भै नै रह्यो । चेतना, कला  र सम्पन्नताको हैसियतको कसिको रूपमा परिमार्जित ओछ्यान, अहिलेको आधुनिक समाज र प्रबिधि उच्चतम प्रयोगले यति सुबिधायुक्त, आकर्षक र बहुमुल्य सम्म पुग्न सक्यो – जुन अबर्णनिय छन् ।  विश्वका अरबौँ मानिसका आ आफ्नै ओछ्यान त हुने नै भयो, सभ्य मानिसका सँसर्गमा रहेका घरपालुवा जिव जन्तूले पनि आबस्यकता अनुसारको  ओछ्यानको  सुबिधा पाएका छन् ।

 

ओछ्यानको चाख लाग्दो पाटो के छ भने – यो संसारमा जति मानिस छन्, ति सबैको आफ्नै ओछ्यान छ भलै कतिले सामुहिक ओछ्यान प्रयोग गर्लान । एउटा सुकुम्बासी गरिबको ओछ्यान अस्थायि होला, घुमन्ते काबिलाहरुले गुफा, ओढारमा आश्रय लेलान् र रातोदिन काममा जोतिने श्रमिकले आफ्नै काम गर्ने थलोलाइ ओछ्यान बनाउदा हुन् – उनिहरुको लागि ति ओछ्यान सुख सयलपूर्ण महल र होटलका ओछ्यान भन्दा कम महत्वपूर्ण र माया लाग्दा छैनन् । राजा रानीका दरबार भित्रका अनमोल रत्न जडित ओछ्यान भनौं या धनपती कुल घरानका एेशपूर्ण सुकोमल ओछ्यान, ति सबैबाट लिन सकिने प्राप्ति र उपलब्धिको मापदण्ड सारमा उस्तै उस्तै रहन्छन् । ब्यक्ति र ओछ्यानको सन्बन्ध एकै रातमा सहज हुँदैन । ओछ्यान परिवर्तन एक असहज प्रकृया पनि हो । ओछ्यान आँफैमा  मौलिकता, अपनत्व, गोपनियता र एकांकी स्वभाबको हुन्छ ।

 

एउटा बिचराकले दर्शनको यात्रा शुरु गर्ने थलो – ओछ्यान । योजनाकारले परियोजना सोंच्ने थलो – ओछ्यान । राजनीतिज्ञले दृष्‍टिकोण बनाउने थलो – ओछ्यान । घर व्यबहार चलाऊने, कर्म र ज्ञानको चिन्तन गर्ने थलो – ओछ्यान । ब्यापारिले लेनदेनको हिसाब किताब सोच्ने थलो – ओछयान । भिखारी, चोर डाँकाले  जालझेल षड्यन्त्रको तानाबाना बुन्ने थलो – ओछ्यान । कुल्ली, मजदूर मेहनतकश सर्बसाधारणले भोलिको अभिभारा सोच्ने थलो – ओछ्यान । बिरक्तिएर जीवनलीला समाप्त पार्ने सोंच बनाउने थलो पनि – ओछ्यान ।  त्यति मात्र कहाँ हो र ! माया पिरतीको जालो बुन्ने थलो पनि – ओछ्यान । बंशलाई निरन्तरता दिन शुभकर्म गर्ने थलो पनि – ओछ्यान । रोमान्स क्रिडा, घुर्की, आबेग संबेग सबै सबै द्वन्द र उद्द्वेलन को ब्यबस्थापन गर्ने थलो पनि – ओछ्यान । शरीरमा जतिसुकै थकान, पिडा र आलस्य भए पनि स्फूर्ती र ताजापन दिने सर्बोत्तम थलो हो ओछ्यान ।   अझ भन्ने हो भने धरतिमा पाइला टेक्न साथ आराम गर्ने पहिलो थलो पनि ओछ्यान र इहलीला समाप्त भएको क्षण अन्तिम बिश्राम लिने थलो पनि – ओछ्यान । वास्तवमा  जीवनको एक मात्र पहिलो र अन्तिम साथ दिने सर्बस्व थलो नै ओछ्यान हो ! ओछ्यान !!

 

समग्रमा मानव  जीवन र सृस्‍टिको अनुपम तथा अभिन्न थलो ओछ्यान अनन्त सम्म परिमार्जित हुँदै रही रहनेछ, जब सम्म मानव यस धरतिमा अस्तित्वमा छाइ रहनेछ । मानव सभ्यताको  युग बोध  गराउने पूर्वजहरु, संसारलाई उज्यालो ज्योति र ज्ञान दिने महामानवहरु, दार्शनिक, बैज्ञानीकहरुको ओछ्यानको अबशेष कति महत्वपूर्ण होलान् ? बर्तमान बिश्व हाँक्ने वीर बिरंगना, शक्तिशाली राजनीतिज्ञहरु,  दूरदर्शी विद्वानहरुको जीवनशैली र तिनका नितान्त ब्यक्तिगत ओछ्यानको बेलीबिस्तार कति उत्सुकमय हुनेछन्, ति यावत ओछ्यानको मुल्य र महत्व भन्दा आफुलाई जन्म दिने ममतामयि आमाको ओछ्यान कता कता हो अतुलनिय र अनमोल हुन्छ – हरेकका लागि । अझ आफ्नै ओछ्यान त… !!!

 

 

मादी मुलखर्क, सँखुवा-सभा

हाल बेल्जियम ।