राहत र उद्दारमा जुट्न विप्वलको निर्देशन

काठमाण्डौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राहत तथा उद्दारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । नेकपा महासचिव विप्वलले शनिबार एक विज्ञप्ति जारी गरी अविरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत र उद्दारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबारदेखि देशभर भएको अवरिल वर्षा, बाढी, पहिरो र डुवानका कारण देशका ठूलो जनधनको क्षति भएको छ । प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमनामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानुन विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडक, गरिव श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने वाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीव जनताले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ ।’

विप्लव समूहले मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था मिलाउन माग गरेको छ ।