‘कोहीको भने डाक्टरको चाकडी ,कोही त मर्छन अस्पताल नहेरी हाम्रो नेपालमा’ भनेर असमानताको विरुद्ध गीत गाउँदै जनतालाई आन्दोलनमा संगठित गर्ने नेताहरु नै यतिवेला त्यही असमान व्यवहार गरिरहेका छन् ।
पछिल्ला दुई हप्तामा जाजरकोटमा अस्पतालमा नपुगी अकालमा ज्यान गुमाइरहेको अवस्था छ भने सरकार र प्रमुख राजनीतिक दलका नेताहरुको उपेक्षा त्यत्तिकै छ । काठमाडौं र देशका अन्य शहरमा त्यस्तो संक्रामक रोगको समस्या आउँदैन भने के फरक पर्छ र भन्नेखालको व्यवहार गरिरहेका छन् ।
जाजरकोट जिल्लाको अर्छानी–५ की २० वर्षकी सुस्मीता जैसीसहित वैशाख २ गतेसम्म १७ जनाको ज्यान गइसकेको आधिकारिक तथ्यांक छ । विकट गाउँमा फैलिएको संक्रामक महामारीले यो भन्दा बढीको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । कतिपय विरामीमा स्वाइन फ्लु देखिएकाले जनतामा थप त्रास छ ।
जाजरकोटसहित विकट क्षेत्रका गरिब विरामी यथेस्ट डाक्टर र औषधिको अभावमा छटपटाइरहेका छन् । गरिब बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका यो देशमा राजनीतिक दलका हुनेखाने र पहुँचवाला नेताले भने उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेका छन्। राज्यले यस्ता हुनेखाने नेतालाई उपचारखर्च भन्दै दुई वर्षमा तीन करोडभन्दा बढी रुपैयाँ उपलब्ध गराएको तथ्यांक वाहिर आएको छ ।
सामान्य उपचार गर्दा पनि बाँच्न सक्ने सम्भावना भएका गरिब जनता उपचार नपाएर ज्यान गुमाउनुपरेका समाचार आइरहेका छन, डाक्टर र औषधि नपाएर छटपटाउँदै मरिरहेका छन तर एकथरि नेताहरुले भने सामान्य रोगको उपचारमा समेत विदेश धाएर राज्यको ढुकुटी स्वाहा पारेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाको उपचारका लागि करोडौं खर्च भइसकेको छ। एमाले अध्यक्ष केपी ओलीको त्यत्तिकै रकम उपचारका लागि खर्च भइसकेको छ । झलनाथ खनाल सामान्य उपचार गर्न पनि राज्यको कोष खर्च गरेर अमेरिका पुगेका थिए । निम्न आय भएका जनता सामान्य उपचार गर्न नसके पनि राजनीतिमा लागेर अकुत रकम कमाएका नेता नै राज्यको ढुकुटीबाट खर्च विदेशमा उपचार गराइरहेका छन् ।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशी, एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाओवादी नेता घनश्याम शर्मा पौडेल, पूर्वमन्त्री सिद्धराज ओझा, मालेका नेता जगतबहादुर बोगटी, एमालेका शेरधन राई, कांग्रेसका तप्तबहादुर बिष्ट र सुरेन्द्र हमाल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायत थुप्रै रकम लिनेमा पर्छन ।
गरिब जनता सामान्य उपचार नपाएर मरिरहेको, तड्पिरहेको यो बेलामा पैसावाल नेताहरु राज्यकोषबाट उपचार खर्च लिएर कोही विदेश र कोही स्वदेशमा उपचार गराएको बिल पेश गरेर अनियमितता गरिरहेका छन् । यतिवेला जाजरकोटका गरिब जनता औषधि र डाक्टर आउँछ कि भनेर काठमाडौंतिर हेरिरहेका छन् ।