एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।
अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइट्नरले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको बताएका छन्
फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयक आज अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।
जसअनुसार गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर लगाइनेछ । त्यो लागु भएमा फ्रान्सले यही वर्ष करिब ४० करोड युरो संकलन गर्ने अनुमान गरिएको छ ।
७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्र मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीमाथि नयाँ कर लाग्नेछ ।अनुसन्धानपछि फ्रान्सेली करको बदलामा अमेरिकाले पनि उसमाथि कर लगाउने अथवा नलगाउनेबारे टुङ्गो लाग्नेछ ।
वाशिङटनले गरेका अनुसन्धानपछि युरोपेली युनियन र चीनमाथि कर लगाइएको थियो ।फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन पाउन नहुने फ्रान्सेली सरकारको तर्क छ ।
चिनियाँ, जर्मन, स्पेनी र बेलायती कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुने बताइएको छ ।