काठमाडौं – एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो ।

“नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता खुला स्थलहरू खोज्दै हिँड्नुप¥यो नि । ”

शर्माजस्तै धेरैको व्यायाम गर्ने थलो टुँडिखेल हो । सैनिक मञ्चको तारबारभन्दा बाहिरको थोरै खुला ठाउँमा एकाबिहानै दौड्ने, खेल्ने, योग गर्नेहरूको भीड देख्न सकिन्छ ।

अस्तव्यस्त सहरी जीवनशैलीबीच स्वास्थ्यप्रति सचेत जनसङ्ख्या अचेल शारीरिक कसरतप्रति आकर्षित छन् । केही मानिस व्यावसायिक जिमखाना, योगघरतिर जान्छन् त कोही सार्वजनिक खुला स्थानमा व्यायाम गर्न मन पराउँछन् ।

सहरी योजनाकार विजयकृष्ण श्रेष्ठ त सहरमा यस्ता खुला स्थानहरू सबैभन्दा पहिला सामुदायिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउँछन् तर सहरमा मानव बसोबासको क्षेत्र बढ्दै गर्दा खुला स्थलहरूको आकार भने घट्दैछ । यो सहरी सामुदायिक स्वास्थ्य र सौन्दर्यका हिसाबले चुनौतीपूर्ण अवस्था रहेको उनी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।