हस्ताक्षर बुझाए मुख्यमन्त्रीलाई
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्यहरुले हस्ताक्षर संकलन गरि मुख्यमन्त्रीलाई बुझाएका छन् ।
नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा संकलन गरिएका हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाईएको नेकपाका प्रदेश सभा सदस्य अक्कल रावलले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री सभामुख, उपसभामुख बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका २९ जना सांसद मध्ये २५ जनाले बजेट माथि असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका छन् ।
नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभा सदस्यलाई बाईपास गरी मन्त्रीहरुले आफूखुशी बजेट वितरण गरेपछि असन्तुष्ट सांसदहरुले कमी कमजोरी सच्याउँदै समान हिसाबले बजेट वितरण गर्न माग सहित मुख्यमन्त्रीलाई संयुक्त हस्ताक्षर बुझाएका हुन्। प्रदेश सरकारका मन्त्रीहरुले एकलौटी गर्दै असमान ढंगले बजेट वितरण गरेको भन्दै सुरु देखि नै नेकपा भित्र व्यापक असन्तुष्टि रहेको थियो ।
बजेटमा असन्तुष्टि जनाउँदै संयुक्त हस्ताक्षर गर्ने नेकपाका सचेतक अक्कल बहादुर रावलले हस्ताक्षर अभियान सरकारलाई सहि बाटोमा अगाडि बढ्नका लागि दवाव दिन गरिएको बताए। उनले भने, ‘सरकार पक्षकै सांसद भनेर सरकार गलत बाटोमा जाँदा पनि टुलु–टुलु हेरेर बस्नु हुँदैन, राम्रा कामको समर्थन गर्दै कमजोरी सच्याउन दवाव दिने दायित्व हाम्रो पनि हो ।’
हस्ताक्षर अभियानको आशय सरकारलाई अप्ठ्यारो पार्नका लागि नभई बजेट समानुपातिक र समावेशी होस् भन्नका लागि रहेको रावलले बताए । यस्तै नेकपाकी प्रदेश सभा सदस्य शान्ती नेपालीले हस्ताक्षर अभियान भन्दा पनि सरकारको ध्यानाकर्षण गराएको बताईन् ।
उनले भनिन्, ‘सत्ता पक्षका सांसदले बोल्नु नै हुँदैन भन्ने त छैन नि ! गलत काम सुधार्न सुझाव दिनु हाम्रो दायित्व हो। प्रदेश सभा सदस्यहरुले दिएको सुझाव प्रति मुख्यमन्त्री त्रिलोचन भट्ट पनि सकारात्मक देखिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताए । उनले भने–‘हस्ताक्षर बुझाएपछि मुख्यमन्त्री ज्यूले पनि बजेटमा केही कमी कमजोरी रहेका र तिनलाई सच्चाउँदै सबैलाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ ।’
यता असार ५ गते देखि अवरुद्ध प्रदेश सभा बैठक अझै सुचारु हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल राजपाले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेश सभा बैठक संचालन हुन नसकेको हो। मंगलबारका लागि बोलाईएको बैठक पनि प्रतिपक्षसँग सहमति नबनेपछि बुधबार सम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाईएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बुधबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरेको हो। प्रदेशसभा सचिवालयलका सचिव रामसिंह धामीले सभामुखको निर्देशन पछि बैठक बुधबार सम्मका लागि सारिएको जानकारी दिए ।
यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाका सांसदको अनुपस्थितीका कारण असार १५ गते पनि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो भने त्यसअघि प्रतिपक्षी दलको विरोधकै कारण चार पटक बैठक स्थगित भईसकेको छ ।