काठमाडौँ – पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदको सोमबारको बैठकले न्यायाधीश सिंहलाई बर्खास्त गर्नका लागि सिफारिस गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले देश सञ्चारसँग भने, ‘अवैध रुपमा चोरी–निकासी, कर्तव्य ज्यान तथा शरीर बन्धक मुद्दामा उहाँले पदीय आचरण भन्दा बाहिर गएर गम्भीर उल्लंघन गरेको र बदनियत पूर्वक काम गरेको देखिएकाले परिषदले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।’ सो सिफारिस प्रधानन्यायाधीशमा जाने र उनले नै कार्यान्वयन गर्ने प्रवक्ता कार्कीले बताएका छन् ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको नगरेको पाइएपछि न्यायाधीश सिंहलाई बर्खास्तका लागि सिफारिस गरेको परिषदले जनाएको छ ।
सोही मुद्दामा सुनुवाई गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीको बढुवा दुई वर्षका लागि रोक्न सिफारिस गरिएको पनि परिषदले जनाएको छ । ६ महिना भन्दा बढी समय लगाएर गरेको अनुसन्धानबाट कारवाहीको सिफारिस गरिएको प्रवक्ता कार्कीले जानकारी गराएका हुन् ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष होस् भन्दै दिएको निवेदनमाथि पेशी तोक्ने मुख्य न्यायाधीश कुलरत्न भूर्तेलसहित ८ जना न्यायाधीशमाथी परिषदले छानविन गरेको थियो । छानविनको क्रममा उनीहरुलाई परिषदमै काज सरुवा गरिएको थियो ।
न्यायाधीश ईश्वर खतिवडाको एकल समितिले प्रारम्भिक छानविन गरी विस्तृत छानविन गर्न सुझाव दिएपछि तीनजना न्यायाधीशको समिति बनेको थियो ।
न्यायाधीश विश्वम्भर श्रेष्ठ, केदार प्रसाद चालिसे र मिरा खड्काको समितिले विस्तृत छानविनपछि दिएको प्रतिवेदनका आधारमा परिषदले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ३ जनालाई ध्यानाकर्षण गराउने निर्णय पहिले नै गरेको थियो ।