नेकपाको मार्गसिद्धान्त – जनताको जनवाद

दुई अध्यक्षको फरक बुझाइ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सिद्धान्तको बुझाइमा दुई अध्यक्षबीच फरक मत देखिएको छ । जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा यसअघि देखिएको बहसमा जनताको जनवाद भन्नेमा भने दुवै नेताको एकै भनाइ छ । तर, त्यसको व्याख्यामा भने फरक मत देखिएको हो ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पार्टीका सिद्धान्त हुनुपर्ने अवाज पूर्व एमाले नेताहरूले चर्को रुपमा उठाइरहेका छन् । तर, पूर्व माओवादीहरूले जबजलाई परिस्कृत गर्दै जानुपर्ने भन्दै जनताको जनवाद भइरहेका छन् । यही विमति देखिरहदा शनिवार राजधानीमा आयोजित मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जनवाद नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको बताए । ओलीले जनताको बहुदलीय जनवादको विशेषताभन्दा पर जान नसकिने स्पष्ट पारे । तर, अर्का अध्यक्ष प्रचण्डले भने जनताको जनवादलाई मदन भण्डारीले जस्तो परिमार्जन गर्दै लैजानुपर्ने आवाज उठाए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले समाजवादमा पुग्ने लक्ष्यसहितको सिद्धान्त नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको बताए । ‘कुनै सिद्धान्तमा अनुचित ढंगले टाँस्सिने, सिद्धान्तका नाममा गतिहीन अररोपन देखाउने नक्कली सिद्धान्तवादिता वा अररो सिद्धान्तवादिताको पिँजडा सुनकै भए पनि मदन भण्डारी त्यसभित्र बस्न मान्नुहुन्नथ्यो’, उनले भने । प्रधानमन्त्री ओलीले अब जनताको बहुदलीय जनवाद (जबज) को ठाउँमा पार्टीको कार्यक्रमको नाम जनताको जनवाद भन्न थालिएको स्पष्ट पारे । ‘हाल, जनताको जनवादमा सहमति गरेका छौँ । त्यो नै मार्गनिर्देशक सिद्धान्त हुन्छ,’ उनले भने ।

मदन भण्डारीले ल्याएको जवज कुनै आन्दोलनको कार्यक्रम वा योजना नभएको स्पष्ट पारे । ‘जबज ०४६÷४७ सालको आन्दोलन संगठित गर्ने सञ्चालन गर्ने योजना वा आन्दोलनको कार्यक्रम होइन’, ओलीले अगाडि भने, ‘एउटा आन्दोलन विशेषलाई हाँक्ने विचार होइन, यो नेपाली समाजलाई समग्र परिवर्तन ल्याउने र लोकतान्त्रिक सुदृढ राष्ट्र, समृद्धि हासिल गरेको लोकतान्त्रिक गणतन्त्र सामाजिक न्याय र समानतासहितको लोकतन्त्र गणतन्त्रको लक्ष्य हो ।’ अध्यक्ष ओलीले समाजवादमा पुग्ने लक्ष्य र त्यसका उदेश्य एवं बाटाहरू समेत प्रस्तुत गरिएको एउटा समग्र सिद्धान्त जबज रहेको बताए ।

उनले पार्टी सिद्धान्तमा शब्दमा परिवर्तन भएको संकेत गरेपनि जबजको विशेषताबाट भने ढाटा जान नसकिने स्पष्ट पारे । ‘अहिलेको अवस्थामा जनताको जनवादलाई कार्यक्रमको नाम दिने अथवा हाम्रो कार्यक्रमलाई जनताको बहुदलिय जनवादको विशेषतामा फरक परेको छैन’, उपस्थित नेता कार्यकर्तालाई आश्वास्त पार्दै भने, ‘तिनै विशेषता हुन्, ती विशेषताभन्दा पर जान सकिदैन । तर, अहिले हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं । त्यसै जनताको जनवादबाट हामी अगाडि बढ्छौँ ।’

ओलीभन्दा अगाडि बोलेका अध्यक्ष प्रचण्डले भने अलिक घुमाउरो भाषामा जनताको जनवाद जबज भन्दा फरक रहेको रूपमा अथ्र्याए । मदन भण्डारी हिजो विभिन्न शक्तिमा रहँदा परिवर्तन हुँदै आएको बताउँदै आफूहरू पनि समाजवादको रणनीति अन्तर्गत जनताको जनवाद हुँदै अगाडि बढ्ने बताए । ‘उहाँ (मदन भण्डारी) विभिन्न आन्दोलनको नेतृत्व गर्दै सांस्कृतिक आन्दोलन हुँदै जनताको बहुदलीय जनवादमा आउनु भयो । हामी पनि अब समाजवादको रणनीति अन्तर्गत जनताको जनवाद हुँदै अगाडि बढ्छाँै भनेर आयौँ । यही यसको ऐतिहासिकता हो । यही यसको मर्म हो’, अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उनले यो कुरा नबुझे कम्युनिस्ट पार्टी नै असफलतातिर जाने चेतावनी समेत नेता कार्यकर्तालाई दिए । दुई नेताले मात्र नभई सबैले यो विचारलाई बुझ्नुपर्ने उनको भनाइ थियो । ‘यो कुरा तपाईंहरू सबैले बुझिदिनु भएन भने मलाई चिन्ता भएर पनि अलिक जोड दिएर भनिरहेको छु । अब दुईटा नेताले मात्र बुझेर हुन्छ भनेर होइन् । अब सबैले बुझ्नुपर्छ ।’, उनले अगाडि भने, ‘पार्टी निर्माण गर्ने कुरा, सरकार सफल बनाउने कुरा, जनताका आकांक्षालाई सम्बोधन गर्ने पक्रिया, राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिलाई सन्तुलनमा राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता, सामूहिक महेनत भएन भने दुईटा नेता असफल हुने खतरातिर जान सक्तैन भन्न सकिदैन ।’

पार्टी एकताले यसै महिना पूर्णता पाउँछ


कार्यक्रममा अध्यक्ष ओलीले यसै आर्थिक वर्षमा पार्टी एकताले पूर्णता पाउने उद्घोष समेत गरे । पार्टी एकताका बाँकी काम नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै सम्पन्न भइसक्ने उनले घोषणा गरेका हुन् । ‘अबको पन्ध्र–सोह्र दिनभित्र पार्टी एकताका बाँकी काम पूरा हुन्छ, नयाँ आर्थिक वर्षको सुरु भएसँगै सबै प्रकृया टुंगो लाग्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले सरकारले राम्रा काम गरिरहेको र सरकारका काममा व्यस्त हुनुपर्ने भएका कारण पार्टी एकताका कामले तिब्रता पाउन नसकेको बताए । प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने दावी गरे ।

‘मदनको हत्या नै भएको हो’


अध्यक्ष प्रचण्डले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने खतरा अझै रहेको औँल्याए । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर आफूहरू अहिलेसम्म बाँचिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी मारिन पनि सक्छौँ ।’ ‘कमरेड मदन भण्डारी ४०–४५ वर्षकै उमेरमै मारिनुभएको थियो । हामीहरू भने ६०–६५ वर्षसम्म पनि बाँचिरहेका छौँ,’ प्रचण्डले भने, ‘अब मारिन पनि सक्छौँ ।’

मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रूपमा दरबार हत्याकाण्ड मच्चाइएको उल्लेख गर्दै प्रचण्डले अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्नसक्ने क्षमता विकास नभएको बताए । अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको पनि बताए । ‘हामी सबैलाई लाग्छ, त्यो कुनै दुर्घटना हैन । भयानक डिजाइनअन्तर्गत गरिएको हत्या हो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘मोटामोटी हामीलाई आधार लाग्छ पनि, यो विदेशी, त्यो विदेशी शक्तिले, देशभित्रको यो तत्व र त्यो तत्वले हत्याकाण्ड मच्चाएको हो भन्ने लाग्छ । तर, नाम लिएर भन्न सकिने अवस्था छैन ।’

सौर्य दैनिक बाट