काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले साम्राज्यवादी, विस्तारवादी शक्तिले एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईलाई अगाडि सारेर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउने षडयन्त्र गरिरहेको बताएका छन् । उनीहरुको तीब्र महात्वाकांक्षाको फाइदा उठाएर देशी तथा विदेशी शक्तिहरुले नेपाल र नेपालीलाई कमजोर बनाएको केसीको भनाइ छ ।
तराई मधेशका जमिन्दारहरुसँग मोर्चा कस्दा उनीहरुले हदबन्दीभन्दा बढी भएको जमिनलाई राज्यले किन्ने जस्तो गलत निर्णय गरे भन्दै जनमोर्चाका अध्यक्ष केसीले अगाडि भने– कम्युनिस्ट पार्टीहरुले आफ्नो स्थापनाकालदेखि उठाएको जमिन जोत्नेको र सुकुम्वासीलाई घर र जमिनको कुरा त यिनीहरुले त्यागे ।
प्रचण्ड र बाबुराम त तपाईका एक जमानाका कार्यकर्ता पनि हुन, कम्युनिस्ट आदर्श विपरीत यस्तो काम नगर भनेर भने हुँदैन र भन्ने झिल्कोको प्रश्नमा केसीको जवाफ थियो– उनीहरुसँग कुरा हुन्छ । जमिनको हदवन्दीको बारेमा बाबुरामसँग कुरा गर्दा उनको अनुहार अमीलो हुन्छ । उनले नबुझेर यसो गरेका होइनन् । अन्यत्र सम्झौता गरेकाले उत्पीडितको हितमा काम गर्दैनन् । प्रचण्डले हाम्रा कुरा ठीकै हो त भन्छन, ती पनि अडान लिदैंनन् । उनीहरुले तराई, मधेशका जमिन्दारसँग सम्झौता गरेर नेपालको राष्ट्रियता कमजोर गराउन कबोल गरे जस्तो छ ।
आफ्नै कार्यकर्ता पधानमन्त्री, मन्त्री भइससके तपाई विपक्षी चेतनाका साथ अगाडि बढ्न खोज्दै हुनुहुन्छ ? लगातार विपक्षी बनिरहन र कम्युनिस्ट आदर्शलाई टिकाइरहन तपाईंलाई के ले उत्प्रेरणा दिइरहेको छ भन्ने प्रश्नमा केसीको जवाफ थियो– म जब काठमाडौं पढ्न आएँ, त्यतिवेलाको असमानता र विकृति देखेर आन्दोलनमा सहभागी हुनपर्छ उत्प्रेरणा जाग्यो, त्यसपछि कांग्रेसको नेतृत्वमा थुप्रै सरकार बने, एमालेको नेतृत्वमा पनि सरकार बन्यो । तिनीहरुले देश र जनताको हित गरेनन् । क्रान्तिकारी कम्युनिस्ट भनिएको माओवादीको नेतृत्वमा पनि सरकार बन्यो । त्यसबाट जनताले धेरै आशा गरेका थिए, त्यसले पनि केही गरेन । उत्पीडित र उपेक्षित जनताको हितका लागि लागिरहनुपर्छ भन्ने कम्युनिस्ट दर्शन बोकेकाले म त्यसमा लागिरहें ।
बाबुराम भट्टराईले त तपाईंलाई ०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा राजनीतिबाट रिटायर्ड हुन र युवाहरुलाई नेतृत्व दिन भनेर सल्लाह दिएका थिए नि होइन र ? उनको सुझावलाई किन मान्नुभएन त भन्ने प्रश्न गर्दा केसीले भने– उनी त्यतिवेला काठमाडौंैका जिल्ला सदस्य थिए । उनीसहित तीन जनाको कमिटी थियो । एउटा सामान्य कार्यकर्ताको सुझावलाई धेरै महत्व दिइएन । उनको सुझावलाई मानेर बसेको भए वेठीक हुने रहेछ । उनले कम्युनिस्ट आदर्श र नैतिकताअनुसार काम गरेका छन कि आफ्नो र आफ्नो परिवारको हितमा काम गरेका छन भन्ने कुरा आमजनताले बुझिसकेका छन् ।
तपाईंले त चलाएका कार्यकर्ता हुन बाबुराम, उनको कस्तो थियो व्यवहार ? भन्दा केसीले भने– अत्यन्त अवसरवादी । म तपाईंलाईं उदाहरण दिन्छु, म महामन्त्री हुँदा बाबुरामले अखिल भारत नेपाली विद्यार्थी संघको उद्घाटनका लागि तपाईं आउनुपर्छ भने र मैले हुन्छ भनें । उनले भनेको समयमा भारतको रुड्की पुग्दा आफ्नो क्याम्पस प्रमुखलाई उद्घाटन गर्न लगाए । नेपालबाट उनको यो समाचार लेख्न प्रेम कैदी पुगे । कैदी कसरी पुगे अचम्म लाग्यो । पार्टीमा एउटा कुरा गर्ने तर अरुले अ¥हाए अनुसार वफादारी गर्ने काम गरे उनले । दोस्रो कुरा, ऋषिकेश शाह र प्रदीप गिरीको तजविजीमा अमेरिका गए । पार्टीमा उनले पछि मात्र जानकारी गरे । तेस्रो कुरा उनी सम्बाद समितिमा बस्दा आफ्नो पार्टीको व्हिप पनि मान्दिन भनेर कसम खाए, कांग्रेस, एमालेले टेबुल ठोके । एउटा पार्टीको नेता पार्टीको नीति र योजनाभन्दा पृथक देखाउन खोज्दा मलाई धेरै गम्भीर बनायो ।