काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता गरेका छन् ।
दाहाल र देउवाबीच बिहीबार दिउँसो ललितपुरको होटल समिटमा भेटघाट भएको देउवा निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विषयमा छलफल भएको थियो ।
शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुंगोमा पुर्याउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने समझदारी भएको स्रोतको दाबी छ । पछिल्लो समय निकै पेचिलो बन्दै गएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस एकै ठाउँमा उभिएका छन् ।
अध्यक्ष प्रचण्डले केही दिनअघि मात्र चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस र कम्युनिष्ट मिलेर मेलमिलाको विषय टुंग्याउन जरुरी रहेको सार्वजनिक मन्तन्यको क्रममा भनेका थिए । तत्कालिन माओवादी र कांग्रेस यो विषयमा एकै ठाउँमा उभिएका छन् । त्यसका बाँकी काम टुंग्याउने बाँकी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण भने गरिसकेकी छिन् । यस विषयमा शीर्ष तहका नेताहरुले चासो देखाएका छन् । देउवा र प्रचण्ड भेटमा कंग्रेसका नेता रमेश लेखक पनि उपस्थित थिए।