एजेन्सी – बलिउड अभिनेत्री शिल्पा सेट्ठी लामो समयदेखि ठूलो पर्दाबाट हराएकी छिन् । उनी अहिले टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोमा जजको भूमिकामा देखिने गर्छिन् ।

कुनै समय नायिकाको रुपमा निकै चर्चा कमाएकी शिल्पा ११ वर्षपछि बलिउडमा अभिनेत्रीको रुपमा फर्किन लागेकी छिन् । ११ वर्षको लामो अन्तरालपछि आफू पुनः फिल्ममा फर्कनको लागि तयार रहेको शिल्पाले बताएकी छिन् ।

आफ्नै इच्छाले फिल्मबाट टाढिएकी शिल्पाले बलिउडमा कमब्याक गर्नका लागि अहिले स्क्रिप्ट अध्ययन गरिरहेको बताइएको छ । शिल्पा अहिले तीन वटा फिल्मको कथा पढिरहेकी छिन्। तर उनले कुन फिल्म खेल्दैछिन् भन्नेबारेमा भने खुलाएकी छैनन् ।

शिल्पा भन्छिन्, ‘एउटा यस्तो समय थियो, म फिल्ममा फर्किन नै चाहँदैनथें। तर अहिले म फिल्मका लागि पूरै तयार भएकी छु।’ राज कुन्द्रासँग विवाह गरेपछि शिल्पा एकाएक फिल्मबाट हराएकी थिइन्।

फिल्ममा फर्के पनि पहिलो प्राथमिकता भने आफ्नो परिवार नै रहेको समेत शिल्पाले स्पष्ट पारेकी छिन् ।

शिल्पाले आमा बनेपछि कुनै पनि फिल्ममा साइन गरेकी थिइनन्। किनकि उनी आफ्नो छोरासँग समय बिताउन चाहन्थिन्। अहिले उनको छोरा ७ वर्षको भइसकेको छ । बच्चा हुर्किन लागेकोले अब एक पटक पुनः फिल्म खेल्न चाहेको उनले बताएकी छिन् ।

शिल्पाको फिल्ममा फर्कने निर्णयलाई श्रीमान् राज कुन्द्राले पनि समर्थन गरेका छन् । अभिनेत्रीको रुपमा पुनः बलिउड फर्किने विषयमा पति–पत्नीको बीचमा लामो समय कुराकानी भएर उनीहरुले निर्णय लिएको एजेन्सीहरुले बताएका छन् ।