काठमाडौँ – विराज भट्ट लामो समयपछि नेपाली चलचित्रमा भित्रिएका छन् । दशकअघि नेपाली चलचित्रमा एकछत्र राज गरेर बसेका अभिनेता विराजले आफ्नो छवि एक्सन नायकको रुपमा बनाएका थिए । उनको नामले मात्र पनि हलमा चलचित्रले ५१ औँ दिन मनाउन सफल हुन्थे ।

पछि उनी भोजपुरी चलचित्रमा बढी व्यस्त हुन थालेपछि नेपाली चलचित्रबाट विश्राम लिएका थिए । अहिले उनी आफ्नै लगानीमा तयार हुन लागेको चलचित्र साङ्लो को छायांकनमा व्यस्त छन् । विराजले आफ्नो लागि यो चलचित्र निकै विशेष भएको बताएका छन् ।

यो चलचित्रको अहिले डोटीमा धमाधम छायांकन भैरहेको छ । चलचित्रमा विराजको जोडी पूर्व मिस नेपाल निकिता चण्डकसँग बाधिएको छ । चलचित्र साङ्लो को छायांकन स्थलबाट केही तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ विराज र निकितालाई एकसाथ धान रोप्दै गरेको देख्न सकिन्छ । उक्त तस्बिरले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।