काठमाडौं : सत्तारुढ दल समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अगरियाले नेपाली सेनका विभिन्न जातीय रेजिमेन्ट बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी भएर बोल्दै प्रमुख सचेतक अगरियाले यस्तो माग गरेका हुन् । नेपाली सेनाको संरचना पञ्चायती शैलीकै रहेको बताउँदै अगरियाले रेजिमेन्ट स्थापना गरेर पुनर्संरचना गर्न माग गरे ।
‘नेपाली सेनाको संरचना पञ्चायती तरिकाको भयो। हामी नेपाली हौँ भने हामीले नेपाली सेनालाई आफ्नो ठान्न सकेनौँ’, उनले भने, ‘अब मधेसी रेजिमेन्ट, थारु रेजिमेन्ट र नेवारी रेजिमेन्ट बनाउनुपर्छ ।’
सेना र माओवादीको लडाइँमा दुवैको हारजित नभएको बताउँदै उनले सम्झौताका आधारमा जनयुद्ध सकिएको स्मरण गराए । ‘अब देशलाई मजबुत बनाउनका लागि मधेसी रेजिमेन्ट, थारु रेजिमेन्ट र नेवार रेजिमेन्ट बनाउनुपर्छ’, उनले अगाडि थपे, ‘हामीले पनि सेनामाथि अपनत्व महसुस गर्नुपर्यो ।’