
हुकुमबहादुर सिंह
प्रत्येक वर्षजस्तै फेरि यो वर्षमा पनि अर्को ८ मार्च आयो र गयो । तर राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा महिलाका सवाल झन्झन् जटिल र पेचिला बन्दै गएका छन् । किनभने सबै प्रकारका शोषण उत्पीडनबाट मुक्तिको मार्गको भर्भराउँदो वियो (सर्वहारा क्रान्ति) निभेको अवस्था छ, यद्यपि विश्वभरि यसका झिल्काहरू कायम छन् ।
विश्व एकाधिकार दलाल पुँजीवादको दवदवा उच्च छ । जसका विरूद्ध इतिहासमा श्रमिक महिलाले विद्रोहको झण्डा उठाएका थिए, अहिले त्यसको संरक्षणका लागि संयुक्त राष्ट्रसंघ, विश्वबैंक, अन्तराष्ट्रिय मुद्राकोष आदिले स्वतन्त्रता, मानवअधिकार, प्रजातन्त्र आदिका नाममा विश्वभरि साम्राज्यवादी जालो बुनिरहेका छन् ।
विश्वभरका उत्पीडनमा परेका जनता मात्रै होइन, स्वयम् कैयौ सर्वहारावादी संगठनहरू पनि काफी भ्रममा छन् । उनीहरूले २१सौ शताब्दीको माक्र्सवाद भन्दै तिनै संघसंस्थाहरूसित सहकार्यलाई जोड दिइरहेका छन् । हामी सबैलाई थाहा छ, जहाँ–जहाँ एकाधिकार दलालहरू विकासका नाममा पुगेका छन्, त्यहाँका स्वाभिमानी जनताले आवाज उठाए भने तिनीहरूको दमनका लागि ‘आतंकवाद’ विरूद्धको नारा अगाडि सार्दछ र यदि कुनै पनि देशका शासकवर्गले जनताको पक्षमा काम गर्न थाले भने ती मानवअधिकार र प्रजातन्त्रका विरोधी भनेर तिनीमाथि अनेकौ प्रकारका दवाव तथा नाकावन्दी गर्न र सके मानवअधिकार र प्रजातन्त्रको स्थापनाका लागि भन्दै शान्ति सेनाको भेषमा साम्राज्यवादी सेना पठाउने र हत्या गर्नेमा स्वयम् उल्लेखित संस्थाहरू लागि पर्दै आएका छन् ।
इतिहास साक्षी छ, सुरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभरका श्रमिक महिलाहरूले मात्रै मनाउने गरिएको यो दिवस अहिले संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको छ । यसमा श्रमिक महिलाहरू उपेक्षित गराइएका छन् । बहुउद्देश्यीय कम्पनीहरूका शोषणविरूद्धको इतिहास भएको यो महान् दिवस अहिले तिनै विभिन्न कम्पनीहरूको आर्थिक सहयोगमा शहरका ठूला–ठूला होटलहरूमा भोजभतेर गरेर सम्पन्न गर्न थालिएका छन् । स्वयम् सर्वहारावर्गको पार्टी कम्युनिष्ट पार्टीहरूबारे पनि यही सत्य हो ।
अमेरिकाको न्यूयोर्कमा कपडा कारखानाका महिला कामदारहरूको वीरतापूर्ण संघर्षको इतिहास बोकेको महिला श्रमिकहरूको एक मात्रै यो महान् दिवस वर्तमानमा पुँजीपतिवर्ग, सामन्ती नोकरशाहहरू, बुद्धिजीवी तथा एनजीओ र आइएनजीओका हर्ताकर्ताहरूको एक दिने क्रीडास्थल बन्न गएको छ ।
वर्तमानको परिवर्तित राजनीतिक, आर्थिक अवस्थामा महिलाका मुद्दा अनगिन्ती छन् र तिनका समाधानका मार्गहरू पनि अनेक छन् । ती मध्ये अहिले एकदमै पहिलो समस्याको जड विश्व साम्राज्यवाद नै हो । जसको समग्र नेतृत्व अमेरिकाले गरेको छ भने त्यसका दलाल विश्व र क्षेत्रीय स्तरमा फरक छन् । नेपाल र दक्षिण एशियाको सन्दर्भमा भारतीय विस्तारवाद रहेको छ । महिला मुक्ति तबमात्रै सम्भव छ जब विश्व साम्राज्यवादको अन्त्य हुनेछ । तैपनि तत्कालका लागि महिला मुक्तिसित जोडिएका सवालहरू निम्न रूपमा राख्दा यसले ती सवालहरूमाथि आफ्नो संघर्षलाई केन्द्रित गर्न सक्नेछ । ती सवालहरू प्रथमतः धार्मिक कट्टरतावाद र त्यसले जन्माएको धार्मिक अन्धराष्ट्रवाद । दोस्रो पीतृसत्तात्मक सामन्ती व्यवस्था । पहिलो समस्या अहिले बलियो गरी अरब देशहरू तथा विश्वभरका मुश्लिम सम्प्रदायमा जरा गाडेको छ भने दोस्रो समस्याका शिकार नेपालजस्ता सयौ वर्षदेखि चल्दै आएको पितृसत्तात्मक व्यवस्था भएका देशहरू हुन् ।
विश्वभरका सबै महिलाको परिस्थितिले के देखाएको छ भने तिनीहरू लोग्ने मानिसका भोगविलासका साधन बनेका छन्, बजारमा खरिदबिक्रीका सामान भएका छन् । सबै अवस्थामा तिनीहरू अपहेलित छन् ।
अहिले अलि बढता इस्लामिक अतिवादीहरूद्वारा महिलामाथि गरिने उनीहरूको व्यवहार २१सौ शताब्दीको परिवर्तित अवस्थामा ज्यादा उत्पीडित देखिएका छन् । इरान, तालिवान र इस्लामिक स्टेटजस्ता धर्ममा आधारित राजनीतिक सत्ताअन्तर्गत महिलामाथि स्पष्ट उत्पीडन देखिएका छन् ।
नेपालकै सन्दर्भमा पनि हिन्दू अतिवादीहरूको महिलालाई हेर्ने दृष्टिकोण ठूलो आलोचनाको विषय रहँदै आएको छ । त्यसैले महिलामाथि हुने उत्पीडन चाहे त्यो जुनसुकै धार्मिक अतिवादद्धारा गरिएको होस, भत्र्सना योग्य नै छ । झन् कुनै पनि धर्मले राजनीतिको खोलभित्र उसको अत्याचार गर्न थालेपछि त झन् त्यो महिलामात्रै नभई समग्र मानवजाति कै लागि दुर्भाग्य ठहर्छ । सामन्तवादी व्यवस्थाले महिलामाथि अन्याय ग¥यो भनेर पुँजीवादी व्यवस्थाका लागि संघर्ष गर्ने महिलाहरू अहिले आएर स्वयम् पुँजीवादी व्यवस्थाको उत्पीडनको गोचक्करभित्र रूमल्लिन बाध्य भएका छन् ।