काठमाडौं – विवादित लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिने भएको छ । फाराम भर्ने भ्याद सकिनै लाग्दा हिजो धेरै आवेदकहरुले एकैचोटी आवेदन दिन लागेकाले अनलाईनमा समस्या भएको थियो ।
नियमित म्याद आज सकिने भएपनि दोब्बर दस्तुर तिरेर फाराम भर्ने समय भने थप एक हप्ता बाँकी रहेको आयोगले जनाएको छ ।
आयोगको यो विज्ञापन समावेशी र संघीयता अनुरुप नभएको भन्दै विरोध भएपछि संसदीय समितिले विज्ञापन खारेज गर्न निर्देशन दिएको छ भने अदालतमा पनि उजुरी परेको छ ।
शिक्षण अनुमतीपत्रको परिक्षाका लागि शिक्षक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्म अध्यापनका लागि शिक्षण अनुमतीपत्रको परिक्षा लिने भएको हो ।
सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले असार २ गतेदेखि २२ गते सम्म दरखास्त दिन सक्ने जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर असार २९ सम्म फाराम भर्न सक्ने छन् । आयोगले शिक्षण तालिम नलिएकाहरुका लागि पनि लाइसेन्स लिने व्यवस्था गरेको छ ।