चितवन – गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक छ भने । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे लगायतले बोलेका थिए ।

बेरोजगार युवालाई रोजगार दिने र कामको अभाव भएका उद्योगमा दक्ष कामदार उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो । सो मेलामा काठमाडौँसहित विभिन्न जिल्लाका रोजगारदाताको सहभागिता छ । वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्तिविकाससम्बन्धी परामर्श सेवा तथा जनकारी दिइने, सीपमूलक तालीम दिने संस्थाको प्रदर्शनी तथा तालीमबारे जानकारी दिइने प्रमुख वनले बताए ।