नौ वर्षमा १४ सयको मृत्यु

0

रंगशाला निर्माणमा नेपालीको अवस्था दयनीय

एजेन्सी – सन् २०२२ को विश्वकप फुटबलका लागि कतारले अहिले धमाधम रंगशाला निर्माण गरिरहेको छ । सो रंगशाला निर्माणमा खटिएका नेपाली कामदारमाथि चरम शोषण हुने गरेको तथ्य पुनः एकपटक उजागर भएको छ ।

विभिन्न खोजमूलक समाचारले त्यहाँ रहेका नेपाली कामदारका बारेमा विभिन्न सामग्री प्रकाशन गर्दै आइरहेका छन् । नेपाल वैदेशिक रोजगार प्रबर्धन बोर्डका अनुसार पछिल्लो नौ वर्षमा १४ सय नेपालीले कतारमा ज्यान गुमाएका हुन् । यो तथ्यांक केवल रंगशाला निर्माणमा खटिएका कामदारको मात्र हो । अन्य क्षेत्रमा गएका कामदारमध्ये मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ । बोर्डले दिएको जानकारीअनुसार अन्य क्षेत्रमा गएका नेपालीमध्ये पनि दुई हजार बढीको मृत्यु भइसकेको छ ।

पछिल्लोपटक एक अन्तर्राष्ट्रिय खोजमूलक भिडियो डकुमेन्ट्रीले पनि नेपालीमाथि कतारमा चरम श्रम शोषण भइरहेको भिडियो सार्वजनिक गरेको छ । डब्लुडिआरको सो भिडियोका अनुसार रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये बार्षिक ११० जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको हो । सो विषयलाई गल्फबाट प्रकाशित हुने सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ समाचारहरू प्रकाशन गरेका छन् ।

‘ट्रयाप्ड इन कतार’ नाम दिएर शुक्रबार सार्वजनिक गरेको भिडियोमा नेपालीले भोगेका दुख, काम लगाउदा दिएका यातना र खाना एवं बस्नका लागि गरेका अमानवीय व्यवहारका बारेमा उल्लेख गरेको छ । कतारमा रंगशालाको काम गर्न गएका मानिसहरूले आधारभूत मानवीय आवश्यकता नपाएको देखाइएको छ ।

दुःखका बाबजुद भविष्य सुखद हुने आशामा त्यहाँ नेपालीहरूले काम गरिरहेका छन् । ‘हामी थुनिएका छौँ, हरेक दिन हामी रोटी र पानी खाएर काम गर्न बाध्य छौँ, पैसाबिना हामी केही गर्न सक्दैनौँ’, रंगशाला निर्माणमा खटिएका नेपाली कामदार दिलप्रसाद भन्छन्, ‘उनीहरूको अवस्था महिनैपिच्छे बिग्रँदै गएको छ, मलाई थाहा छैन मैले कहिलेसम्म यहाँ काम गर्छु ।’ उनीसँगै काम गर्ने अर्का एक नेपालीले भने, ‘म घर जान चाहन्छु, हामीले घरमा फोनसमेत गर्न सक्दैनौँ ।’

कामदारमाथि चरम श्रम शोषण भए पनि मृत्युपछि पनि क्षतिपूर्ति नदिने गरेको कामदार र उनीहरूका परिवारले बताएका छन् । मृतकमध्ये अधिकाशंका परिवारले क्षतिपूर्ति रकम अहिलेसम्म नदिएको तथा मृतकको पोस्टमार्टम रिपोर्टसमेत दिने नगरेको गुनासो गरेका छन् । मृतक कामदारमध्ये अधिकांश सुतेको ठाउँमा, हृदयघात, निर्माणका क्रममा अग्लो स्थानबाट खसेर मृत्यु हुने गरेको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर अन्त्य गर्ने रोजगारदाता देशसँग परामर्श र छलफल गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु के कारणले भइरहेको छ । यो विषयमा सरकारले पनि हाल अध्ययन र अनुसन्धान गरिरहेको छ ।

रोजगारदाता देशमै नेपाली डाक्टर राखेर समस्या समाधान गर्ने उपाय खोजी रहेको छ ।’ सरकारले धेरै कामदार मृत्यु हुने देश मलेसिया, कतार र साउदी अरबजस्ता देशमा नेपाली श्रमिक पठाउँदा मृत्यु हुने कारण पहिचान गरेको पाइँदैन । यस्ता कामदारको आपूर्ति बन्द गर्ने खासै चासो नदेखाएको विज्ञहरूको भनाइ रहेको छ

Leave A Reply

Your email address will not be published.