एजेन्सी – भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे ।
कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् र उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त हुन् । भेटपछि सांसद साक्षी महाराजले भने, ‘यहाँका हाम्रा निकै यशस्वी र लोकप्रिय विधायक कुलदीप सेंगर धेरै दिनदेखि यो जेलमा हुनुहुन्छ ।
चुनावपछि धन्यवाद दिनका लागि यहाँ भेट्न आएको हुँ ।’ कुलदीप सेंगर उन्नाव बलात्कार काण्डका मुख्य अभियुक्त भएकाले देश तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उन्नाव चर्चामा रह्यो । आफन्तको साथ लागेर कामको खोजीमा कुलदीपको घरमा गएका बेला आफूमाथि उनले बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।
पीडित बालिकाका पिताको मृत्यु भएको छ । उनको मृत्यु पहिलेको भिडियो भाइरल भएको थियो, जसमा उनले आरोप लगाएका थिए कि विधायका भाइ र अरु केही मानिसले उनलाई कुटपिट गरेका थिए ।
कुलदीपविरुद्ध उन्नावको माखी प्रहरी चौकीमा बलात्कार आरोप उजुरी परेको थियो । यो घटनाको जाँच सिबिआईबाट गर्न भएको आदेश अनुसार सिबिआईले नै उनलाई पक्राउ गरेको हो ।
घटनाको जाँचमा ढिलाई भएकाले यसप्रति इलाहाबाद उच्च अदालतले पनि हस्तक्षेप गरेको थियो । साक्षी महाराज र सेंगरको भेटलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
तर अधिकारीहरु भने यो भेट गलत नरहेको बताउँछन् । सेंगर अभियुक्त रहेको र दोषी प्रमाणित भइनसकेको तथा विधायक पनि रहेकाले भेट गलत नहुने राज्यका महान्यायाधिवक्ताको भनाई छ ।