काठमाडौँ – पत्रकारको नाक भाच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका इटहरी उपमहानगर पालिकाका मेयर द्धारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन् ।
चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए पनि पदीय मर्यादाअनुकुल अभिव्यक्ति नभएको भन्दै नेकपाका स्थायी कमिटी सदस्यहरु शंखर पोखरेल र योगेश भट्टराई क्षमायाचना गर्न आग्रह गरेका हुन् ।
मंगलबार चारदिशा सहित अरु केही मिडियासँगको कुराकानीमा चौधरीले आफूविरुद्ध नियोजित रुपमा केही पत्रकार लागेको र उनीहरुको नाकको डाँडी भाच्न एक करोड रुपैंया छुट्याएको बताएका थिए ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले नेकपाले अलम्बन गरेको नीति सिद्धान्त र पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री पोखरेले फेसबुकमा लेखेका छनु, ‘द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्म आलोचना गर्नु उचित हुनेछ ।’
त्यस्तै योगेश भट्टराईले चौधारीको हकी स्वभाव, प्रस्टवक्ता र इमान्दारिताको प्रशंसक भए पनि सार्वजनिक भएका अभिव्यक्ति स्वयव उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी र उनको राजनीतिक उचाइका कारण नसुहाउने बताएका छन् ।
उनले भनेका छन्, ‘आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्धारिकालाल चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’