विराटनगर – सार्वजनिक विदाका कारण प्रदेश एक सरकारले बुधबार प्रस्तुत गर्ने भनेको नीति तथा कार्यक्रम एकदिनका लागि पछाडि सरेको छ।

नेपाल सरकारको मन्त्रीपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिएसँगै आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुतिको समय बिहीबार ३ बजेसम्मको लागि सरेको हो। बुधबार विराटनगर स्थित प्रदेशसभा बैठकमा प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले सरकारको नीति तथा कार्यक्रम पेश हुने कार्यक्रम रहेको थियो।

कार्यक्रमले प्रदेशको कृषी, पर्यटन तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी कृषकलाई अनुदान, बाली, पशुधनको बीमा, विश्वविद्यालयसँग सहकार्यमा कृषकलाई प्रशिक्षण लगायतका योजना पनि यसपटक समावेश भएका छन् ।

त्यसैगरी प्रदेशको १४ जिल्लाको ५६ निर्वाचन क्षेत्रमा मुख्यमन्त्री ग्रामीण सडक योजना सञ्चालन कार्यक्रम अघि बढ्नेछ। पर्यटनतर्फ मोरङ विराट राजाको दरबार, पाँचथरको हिलिहाङ, उदयपुरको चौदण्डीगढी, सुनसरीको विजयपुर क्षेत्रको अध्ययन गरिने बताइएको छ ।

प्रदेश एक मन्त्रीपरिषद्को बैठकले मंगलबार नीति तथा कार्यक्रमलाई पारित गरेसँगै मुख्यमन्त्री शेरधन राइले प्रदेश प्रमुख प्रा.डा. तुम्बाहाङलाई बुझाएका थिए ।