काठमाडौँ – सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकरी संसदमा बस्दा लडेर ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

आइतबार शून्य समयमा सांसद अधिकारीले आफू बसेको कुर्सी भाँचिएर चारपटक लडिसेको जानकारी गराउँदै मर्मत गर्न माग गरेका हुन् । संसद सचिवालयलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको सभामुख समक्ष गुनासो गरे ।

‘सभामुखज्यू, कुर्सीबाट चारपटक लडिसके । संसद सचिवालयको ध्यानाकर्षण गराउँदा सुनुवाई भएन । अब त भन्नै पर्ने भयो ज्यान जोगाइ पाउँ’, अधिकारीले संसदमा भने ।

त्यस्तै समय माग गर्दै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले हालसालै लोकसेवा आयोगले स्थानीय तहका लागि आह्नन गरेको कर्मचारी पदपूर्तिको विज्ञापन संघीयता र संविधान विपरीत भएको बताए ।

उनले समावेशितालाई उल्लंघन गर्दै आयोगले पदपूर्तिका लागि विज्ञापन गरेको र प्रदेश लोकसेवा आयोगको अधिकार क्षेत्रलाई केन्द्रले हस्तक्षेप गरेको भन्दै सच्याउन माग गरे ।