डाेल्पा – डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि  फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्‍याउँदा शनिबार  बिहान मृत्यु भएको  र  जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार  प्यारी भोक्पा भन्ने ठाउँमा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गएकाे बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।

एक महिनाअघि मात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुई जनाले ज्यान गुमाएका थिए। गएकाे वैशाखदेखि हालसम्म जम्मा  पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।