–युबराज गुरुङ,बेल्जियम
The Man – who makes or mars the SYSTEM’ अर्थात ब्यक्ति नै त्यस्तो कर्ता हो जसले पद्दतिको निर्माण या बिध्वंश स्वयँ गर्न सक्दछ । संगठनमा ब्यक्तिको रूची, ईच्छाशक्ति, कार्यशैली, आचरण र प्रब्रित्तिले अहम भूमिका खलेको हुन्छ तर ति सबै ब्यक्तिका बैयक्तिक स्वभाबहरुलाई पद्दतिले निर्धारण र नियन्त्रण गरेको हुन्छ । पद्दतिको मुख्य अबयब ब्यक्ति नै भएकोले संगठनमा आबद्ध सदस्यहरुको प्रयत्नको समष्टी परिणामले त्यस संगठनको साख र उपलब्धिलाई चित्रण गरेको हुन्छ । तसर्थ एउटा कुशल संगठन बन्नुमा पद्दतिको समुचित ब्यबस्था र आबद्ध सदस्यहरुले पालना गर्ने आचरण र कार्यशैली सर्बाधिक महत्वका बिषय हुन् । संगठन व्यबहारको एक विद्यार्थीको रूपमा रहंदा मेरा गुरुले पढाउनु भएको यो बाणी नै सामाजिक संगठनको एक अत्यन्त महत्वपूर्ण र न्युनतम कडि हो भन्दा फरक नपर्ला ।
एन आर एन अहिले तीस लाख भन्दा बढि गैर आबासिय नेपालीहरुको साझा संस्था बनी सकेको छ । संस्था (Institution) यस अर्थमा कि एन आर एनले संगठन (Organization) को करिब दश बर्षको यात्रा पार गरेर बिधिवत रूपमा नेपाल सरकार अन्तर्गत दर्ता भै मान्यता प्राप्त गरि सकेको छ र यो संस्था आँफै विश्वब्यापी रूपमा छरिएका नेपालीहरुको मन मस्तिष्कमा न्यानो ओंत लागि सकेको अवस्थामा छ । यद्दपी यस संस्थाको परिकल्पना गरिए अनुसारको संस्थागत सांगठानिक संरचनालाई चूस्त दुरूस्त राख्न र व्याबहारिक जीवनमा कार्यन्वयन गर्न अझै केहि कठिन यात्रा तय गर्न जरूरी देखिन्छ ।
अबसर खोजी र बाध्यताको अनन्त यात्रामा जोखिम मोल्दै देश देशावरको यत्र तत्र पुगेका नेपालीहरु जो जहाँं रहे बसे र त्यहिको परिबेशमा एक हद्सम्म सफल भए, उनिहरुको देशप्रेमको भाबना र एन आर एन सँजाल परिकल्पनाकारहरुका ब्रिहद अभियानले मेल खायो र अहिलेको बिशाल संस्थाको आकार ग्रहण गर्योन । संस्थाको ब्रिहत्तर फैलावट संगै आन्तरिक सँयोजन, बिधि बिधानको एकरूप प्रयोग, बुझाई र गराइको दूरी पनि सोही अनुपातमा बढ्ने नै भयो । खास गरि बिषम परिस्थिति, स्थानिय एेन कानुनको परिपालना र सामाजिक समायोजन, भौगोलिक दूरी, सँबाद को यथेस्ट समयभाब ईत्यादिको कारण एन सि सि र आइ सि सि बिचको पारदर्शी घनिष्टता, पर्याप्त सुझ्बुझको तह अाशातित तवरमा छैन । एन आर एनको संस्थागत धरातल भनेको नै एन सि सि भएकोले एन सि सिलाई अझ प्रभाबकारी र ब्यबस्थित गरिनु नै आगामी दिनमा थप चुनौतीको बिषय हुनु पर्दछ, सबैको । एन आर एनको विश्वब्यापी आधार स्तम्भको रूपमा रहेको एन सि सिको सर्बोपरी महत्व के कति हुन्छ र एन सि सिमा आएको सानो बिचलनले सिंगो संस्थाको साखमा कस्तो आँच पुर्याउदो रहेछ भन्ने भर्खरै हामीले भोगेको कुरालाई एउटा गतिलो पाठको रूपमा लिन सकिन्छ ।
सामाजिक संस्था आँफैमा यो भाबनात्मकताको जगमा उभिएको हुन्छ । बिबेक र भाबनाको उच्चतम समजोडबाट सामाजिक अभियानले गति लिन्छ । मन आचरण जति शुद्ध हुन जरूरी छ, प्रकृया पनि त्यतिकै स्पष्ट हुनु पर्दछ । संस्थाको पारदर्शिता र अधिकतम सहभागिता हरेक गतिबिधिको न्युनतम शर्त हुनु पर्दछ । श्रीजनशिल र प्रगतिशिल प्रब्रितिले संस्थाको साख बढाउछ । तसर्थ सामाजिक संस्थामा सकृय हुनु खोज्नु नै एक प्रकारको आत्माशुद्दी र समय परिस्थितिको सकारात्मक प्रवाहलाई केलाउन सक्ने क्षमताको अभिब्रिद्धी पनि हो ।
एन आर एन साझा संस्थाको रूपमा गैर आबासिय नेपालीहरु माझ स्थापित त भै सक्यो । अब रह्यो – एन आर एन (एन सि सि)लाई कसरी नमूना संस्थाको रूपमा बिकास गर्ने भन्ने । कतिपय मुलूकमा एन आर एनकै स्तरमा अन्य संघ संस्थाहरु पनि सकृय रहेको, एन आर एनले छुट्टै र बिशिष्ट भूमिका निर्बाह गर्न नसकेको, खास गरि एन आर एनको प्रस्तावना र मूल मर्म अनुसार चल्न नसकेको जस्ता आलोचना र वास्तबिकता दुबै झेल्नु परेको अहिलेको अवस्थामा आसन्न विश्वब्यापी एन सि सिको अधिबेशन अगावै तत तत मुलूकका एन आर एनका अभियन्ताहरुले मनन गरि एक्सन लिन आबस्यक देखिन्छ । हरेक मुलूकको अलग अलग स्थानिय एेन नियम अनुसार एन आर एन चल्नु पर्ने हुनाले सबै एन सि सिको बिशेषता र कार्यान्वयन शैलीमा एक रूपता नहुन सक्छ । हरेक एन सि सिको आ आफ्नै भुगोल, बिशिष्ट अवस्था र अपनाउनु पर्ने कार्यशैलीमा बिबिधता भए पनि नमूना एन आर एन बनाउनको लागि स्थानिय समस्या र भाबनाको प्रतिनिधित्व गर्नु सर्बोपरी हुन आउँछ ।
यहाँ बेल्जियमको हकमा एन आर एन एन सि सिलाई एउटा नमूना संस्था बनाउन थप प्रयत्न के कसरी गर्न सकिन्छ भन्ने बिषयमा बहशको लागि यहाँ केहि दृष्टिकोण राख्न चाहन्छु ।
बेल्जियममा तीन दर्जन भन्दा बढि संघ संस्थाहरु कृयाशिल रहेका छन् । बेनेलक्स देखि युरोपियन पार्लियामेण्ट हेर्ने सम्मको कार्यक्षेत्र रहेको नेपाली दुताबास, सामाजिक राजनितिक र जातिय संघ संस्थाको आ आफ्नै अस्तित्व र कार्यशैली रहेको बेल्जियममा निस्चय नै एन आर एनले सन्तूलित र प्रिथक भूमिका निर्बाह गर्नु चुनौतीपूर्ण छ तर त्यो काम संभब छ । एन आर एन बेल्जियमलाई नमूना संस्था बनाउन सबैको सहयोग, साझा दृष्टि्कोण र रचनात्मक एक्सनको भने सशक्त जरूरी छ । सबै बिचार, आस्था, समूह, उमेर र भावनाका नेपालीहरुको प्रतिनिधि संस्था हुन यि कुराहरुमा बहश छलफल र प्रतिबद्धताको जरूरी देखिन्छ जसलाई बूंदागत रूपमा राख्न चाहन्छु ।
१, आइ सि सिले जारी गरेको आचार संहिताको पुर्ण पालना गर्ने ।
२, स्थानिय भाषा अन्तर्गत Netherland र French भाषामा पढ्न, लेख्न र बोल्न जान्ने – न्युनतम २.१ लेभल पास गरेकाहरुका लागि २ सदस्य पदको ब्यबस्था गर्ने ।
३, सचिब, महासचिब पदको लागि एक जनाको लेखापाल संबन्धि र अर्को अँग्रेजी राम्रो ज्ञान भएको अभिलेख सम्हाल्न सक्ने योग्यता भएको हुनु पर्ने ।
४, कोषाध्यक्ष पदको लागि कोष ब्यबस्थापनमा शैक्षिक योग्यता भएको हुनु पर्ने ।
५, १८ देखि २५ बर्ष सम्म उमेरका एक युबक र युबतीको लागि २ सदस्य पद थप तोकिनु पर्ने ।
६ एन आर एन अन्तर्गतका राहत समिति लगायत अन्य समितिहरुलाई ब्यबस्थित गर्ने ।
७ दूताबास र अन्य नेपाली संघ संस्था बिचको समन्वयलाई सरलिकरण र सहजिकरण गर्ने ।
८ संस्थाको मूल कोषलाई आबस्यकिय बिभिन्न शिर्षकमा बिनियोजन गर्ने प्रणाली शुरु गर्ने ।
९, एन आर एनलाई Political Exercise गर्ने थलोको रूपमा प्रयोग गर्न नदिने ।
१०, राजनीतिक संगठन तथा कुनै पनि संगठनका बहालवाला कार्यकारी पदमा रहनेले एन आर एनको २ बर्षे कार्यकाल अबधी भर काम गर्न उम्मेदवारि दिनु अगावै आफ्नो पदबाट रजिनामा स्विक्रित गराएर आउनु पर्ने ।
११, एन आर एनमा लेभी तिरेका, संस्थागत कुनै आर्थिक अभियोग नलागेकाहरुका लागि बातावरण बनाउने ।
१२, राजनितिक आस्थाका आधारमा प्यानलगत रूपमा उम्मेदवारि दिने, एक भन्दा बढि राजनितिक आस्थाका संगठनहरु मिलेर चुनाव प्रभाबित बनाउने सबै खाले तिकडमहरुको अन्त्य गर्ने ।
१३, सदस्यता बितरण क्षेत्रगत रूपमा तुरून्त शुरु गर्ने ।
१४, सदस्यता शुल्क एन आर एनको बैंक खातामा जम्मा गरेको भौचर सहित सदस्यता बितरण गर्ने । बैंक खाता नहुनेहरुका लागि ब्यक्ति स्वयं उपस्थित भएर सदस्यता फारम र शुल्क दस्तूर नगद बुझाउन पाउने ब्यबस्था गर्ने ।
१५, समूहगत रूपमा सदस्यता फारम बितरण गर्ने, सामुहिक सदस्यता फारम बुझाउने, सदस्यता शुल्क अरुले तिरी दिने परिपाटि तुरून्त अन्त्य गरिनु पर्ने ।
१६, चुनावलाई प्रभाबित बनाउन अन्य कुनै आर्थिक चलखेल, हूलहुज्जत र सद्भाब भड्काउने गतिबिधिलाई निरूत्साहित गर्ने ।
१७, संगठनका बिबिध पक्षमा कार्यकारी सदस्यहरुलाई समय समयमा माथिल्लो निकाय तथा संबन्धित बिशेषज्ञहरुबाट प्रक्षिण तालिमको ब्यबस्था गर्ने ।
उपरोक्त लगायतका यावत बिषयहरुमा सबै सरोकारवालाहरु एउटै टेबलमा बसी गहन छलफल गरेर एक साझा संकल्प बनाउन जरुरी छ । अधिबेशनताका सोच्दै नसोचेका गतिबिधिहरु सल्बलाउने, राजनीतिक आस्थाका समूह, गुट उपगुट देखा पर्ने र एन आर एनको मुल्य मान्यता बिपरित सांठगांठ गर्ने, सदस्यता शुल्क तिरी दिएर बिबेकको किनबेच गरिने, सदस्यताको महत्व र कर्तब्य नबुझाई सदस्य बनाइ दिने, समूहगत सदस्यता फारम बुझाउने, हूलहुज्जत गर्ने, ब्यक्तिगत लान्छनाहरु लगाउने जस्ता नितान्त घ्रिणित कार्यहरु कुनै रूपमा पनि आउन नदिने प्रण सबैले गर्नु पर्दछ । एन आर एनको साखलाई उचो बनाउन सबैले रचनात्मक तवरले सोच्नै पर्दछ ।
यि सबै कुराहरुको ब्यबस्थित गर्न एउटा क्राइटेरिया सहितको बिकसित पद्दतिको निर्माण गर्न जरूरी छ । निर्धारित क्राइटेरिया सहित अधिकार प्राप्त एक सशक्त र तटस्थ निर्वाचन समिति बनाएर नेत्रित्व चयन गरिनु पर्दछ । त्यो संभब छ बेल्जियमले उदाहरण देखाउन । मात्रै त्याग, चिन्तन र ईच्छशक्तिको जरूरत छ । एन आर एन साझा संस्था त भएकै छ, अब नमूना संस्था बनाउने बेला आएको छ । [ लेखक एन आर एन ए अन्तरराष्ट्रिय समितिको सल्लाहकार हुनुहुन्छ]
मिति : २८ फेब्रुअरी, २०१५