चारदिशा।

गैर आवासीय नेपाली संघका सचिव अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा उमेद्वारी घोषणा गरेका छन्। फेसवुक मार्फत  सन्तुलित र कुटनौतिक शव्द प्रयोग गर्दै एनआरएनमा गर्न र हुन वाँकि रहेको कामको लगि आफ्नो उमेदवारी तार्किक र अनिवार्य रहेको उल्लेख गरिएको छ।

एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको उल्लेख गर्दै श्रेष्ठले संगठन सन्चालनमा कमि कमजोरी रहेको र त्यसको सुधार गर्नुपर्नतर्फ संकेत गरेका छन्।

व्यपारीहरुको संस्थाको रुपमा आरोप खपिरहेको एनआरएनलाई साँच्चिकै एनआरएन वनाउन सहयोगको अपेक्षा गरे पनि यथार्थमा कस्तो सा‌ंगठनिक संरचनाको परिकल्पना गरेका हुन् र कस्तो अभियान सन्चालन गर्न खोजेका हुन् सो भने खुलाएका छैनन्।

 

प्रस्तुत छ सचिव श्रेष्ठले प्रस्तुत गरेको घोषणाको पूर्ण अंश

 

गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।
आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।
नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।
गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,
स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।
संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।

अर्जुनकुमार श्रेष्ठ
महासचिव पदको उम्मेदवार
हाल: सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति: १८ सेप्टेम्बर, २०१७