सौरभ गिरी
नेपालगन्ज,२६ फागुन ।

जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा २४ जनाकाे मृत्यु भएको छ । उक्त बस जाजरकोटको भेरीमालिका नगरपालिका–४ बाेहरा भन्ने ठाउँ नजिक सडकबाट करिब २ सय मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको बताए । ‘घटनास्थलबाट २४ जनाको शव निकालिएको छ, अहिले घाइतेहरुको उपचारको लागि नेपालगञ्ज पठाउने तयारी गरेका छौं, ‘घटनास्थलमा उद्दारकार्य सकिएको छ । चौरजहारी अस्पतालमा उपचार सम्भव नभएकाले नेपालगञ्ज पठाउन लागिएको हो । ‘ उनको अनुसार केहिको चौरजहारी अस्पताल र गम्भीर घाइते २८ जनालाई नेपालगञ्ज पठाउन लागिएको हो । घाइतेलाई नेपालगञ्ज पठाउनको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको उनले बताए ।

बसमा करिब ६० यात्रु सवार रहेको र दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले घाइतेहरूकाे उद्दार र मृतककाे शव संकलन गरिरहेका छन्। दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्