युरोपको सानो देश बेल्जियममा नेपाली हरुको बसाईको दुई दशकमा स्थानीय परिबेशमा नेपालीहरु स्थापित हुँदै गैरहेका छन । राजनीतिक र सामाजिक रुपले सकृय प्रबासी नेपालीहरुमा विश्वमै एक नम्बरमा पर्ने यहाँका नेपालीहरु ब्याबसायिक रुपमा पनि आशातित सफलता तर्फ उन्मुख छन । नेपाली हस्तकलाका सामान,   किराना पसल,  फास्टफूड  र रेस्तुरेन्टको ब्यवसायमा सन्लग्न रहदै आएका नेपालीहरुले पछील्लो चरणमा सुशी रेस्टुरेन्ट (जापनिज खाना)  को ब्यापारमा लोभ लाग्दो प्रगती गरेका छन ।

बेल्जियममा करीब छ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ । भाषिक सँघियता भएको देश बेल्जियमको नेदरल्यान्ड भाषा बोल्ने फ्लामिस पार्टमा धेरै नेपालीहरुको बसोबास छ र धेरैको ब्यवसाय पनि यहि भागमा छ । ब्यवसायमा लागेका मध्य ६० प्रतिशत त सुशीकै ब्यवसायमा छन । चाईनिज र जापनिज रेस्टुरेन्टमा काम गरेर अनुभब बटुलेका  दोर्जे गुरुङ लामा, अर्जुन कुमार श्रेष्ठले बेल्जियनहरु सँग साझेदारीमा सुशी रेस्तुरेन्ट सुरु गरे लगत्तै हरी शर्मा थपलिया, नारायण चित्रकार,  कृष्ण खतिवडा लगायतले सुशी रेस्तुरेन्ट खोलेर यो ब्यवसायलाई आफ्नो पेशा बनाएका थिए । नेपालीहरुलाई सुशीको सीप सिकाउने काम भने क्यानाडामा सुशी सम्बन्धी काम गरेका नारायण चित्रकारले गरेका हुन ।

नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्टका अनुसार यो ब्यबसायबाट नेपाली ब्यबसायीहरुले मात्र प्रति दिन तीन लाख युरो  ( तीन करोड पचास लाख नेपाली रुपया) को ब्यापार गर्दै अाईरहेका छन । अहिले नेपालीहरुको मात्र एक सयवटा जती सुशी रेस्टुरेन्ट सन्चालनमा छन भने यसबाट करीब पाच सय जनाले रोजगारी पाइरहेका छन।  यहि ब्यवसायबाट प्राप्त मुनाफाले नेपालीहरुले नेपालमा अन्य ब्यवसाय एबम परियोजनाहरुमा लगानी गरी आफ्नो जन्मभुमीलाई आर्थिक रुपमा सम्पन बनाउन सानो भए पनि सहयोग गरीरहेका छन भने बेल्जियममा आफ्नो सामाजिक छबी र आर्थिक हैसियत उच्च राखेका छन ।

यहाँका नेपाली सुशी ब्यबसायीहरुको प्रसंशा नेपाल सरकारका अर्थमन्त्री देखि गैर आबासिय नेपाली संघका अध्यक्ष सेश घले र सुशीको देश जापान निवासी उपाध्यक्ष भवन भट्ट समेतले गरिसकेका छन । खाना सम्बन्धी बिभिन्न प्रतिस्पर्धामा सहभागि भएर नेपाली ब्यबसायीहरुका रेस्टुरेन्टहरुले उत्कृष्ट पुरुस्कारहरु जितेका छन ।

इस्वी सन २०० तिर दक्षिण पुर्बी एसियामा माछालाई ताजा राख्नको लागि भातले बेरेर राख्ने चलन सुरु भएको र पछि त्यही खानाको रुपमा खादा सुशीको परिकारको बिकास भएको मानिन्छ । यसको स्वाद स्वादिस्ट बनाउन बिभिन्न्न समयमा परिवर्तन भएर आजको अवस्थामा आई पुगेको सुशी ताजा र स्वस्थ खानाको रुपमा संसार भरि प्रसिद्ध भैसकेको छ ।

तीन दशक अगाडि अमेरिकामा प्रख्यात भए पछि यस खानाको संसारका अरु देशमा बिस्तार भएको हो । जपानीज ब्यापारीहरुले आफ्नो ब्यापार बिस्तार गर्ने क्रममा आफ्नो खाना सुशीलाई पनि प्रचार गरेका हुन । नोरितोशी कानाई नामका ब्यापारीले आफ्ना जुइस साझेदार सँग मिलेर पहिलो पटक अमेरिकामा सुशी रेस्तुरेन्ट खोलेको र पछि अन्यले यसलाई अनुशरण गरेका थिए ।

बेल्जियममा रहेका सुशी रेस्तुरेन्ट मध्य केही जापानिज परम्परागत  सुशी रेस्टुरेन्ट  छन भने नेपालीहरुले ग्राहकलाई बितरण गर्ने सुशी जापानिजहरुले दिने भन्दा केही परिमार्जित हो,  जुन अमेरिका, क्यानडामा बढी चलेको स्वादको हो । युरोपियनहरु र चाइनिज जापानिजहरुले चलाएका रेस्टुरेन्टहरु निकै महँगा भएका र नेपालीहरुको सुशी स्वादिस्ट र सुलभ मुल्यको भएकाले पनि यो ब्यवसायमा नेपालीहरुको प्रभुत्त्व बढ्दै गएको छ ।

नेपालीहरुको मिहिनेत र लगनशिलताको प्रतिफल दिने माध्यम बनेको जापनिज खाना सुशीको ब्यबसायलाई अझ स्तरिय बनाउन सके नेपालीहरुको जीबनलाई खुशी बनाउन सुशीले अझै धेरै समय सम्म सहयोग गर्नेनै छ ।