चारदिशा, सम्बाददाता, बेल्जियम,
बेल्जियम लगायत बेनेलक्स र युरोपिय युनियनका लागि नब नियुक्त नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियममा कृयाशिल नेपाली पत्रकारहरु सँग अनौपचारिक अन्तरकृया गर्नु भएको छ । बेल्जियमको नेपाली समुदाय , संघ संस्थाहरु र यहाँको बेल्जियन समाजका बारेमा चासो लिदै सबै मिलेर कसरी काम गर्न सकिन्छ भन्ने बारेमा सुझाब र जानकारी लिन चाहनु भएका राजदुत थापालाई संचारकर्मीहरुले बिभिन्न क्षेत्रमा गर्न सकिने काम तथा नेपालका लागि बेल्जियममा हुने गतिबिधी बारे जानकारी सहित् सुझाबहरु प्रस्तुत गर्नु भएको थियो ।

राजदुत थापाले आफ्नो २७ बर्षे कुटनीतिक सेवाको अनुभब र आफ्नो क्षमताको पुरापुर उपयोग गरेर नेपालको उन्नतिमा काम गर्ने संकल्प गर्दै यहाँको नेपाली समुदायसंग मिलेर हिंड्ने आफु तयार रहेको जानकारी गराउनु भयो । युरोपको केन्द्र बेल्जियममा नेपालको उन्नतिको लागि गर्न सकिने धेरै अबसर र सम्भाबना भएकोले हामी सबै मिलेर काम गर्दा धेरै उपलब्धी हासिल गर्न सकिने अवस्था छ भन्नु हुँदै संचारकर्मी हरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भयो ।

दुताबासबाट दिईने सेवालाई सर्ब सुलभ र पारदर्शी बनाउन आफुले सुरुवात गरी सकेकोले छित्तै त्यसको असर देखिने र अन्य केही नयाँ सेवा र काम गर्नु पर्ने भए सुझाब पाए आफु परिवर्तनका लागि सधैं तत्पर रहने पनि राजदुत थापाले विश्वशत पiर्नु भयो । बेनेलक्सबासी सबै नेपालीलाई दुताबास आफ्नो प्रबासको घर हो भन्ने महसुस गराउने आफ्नो प्रयत्न रहने बताउदै त्यसमा उदार मनले सहयोग गरिदिन सबैलाई आफ्नो आग्रह प्रबाह गरीदिन संचारकर्मिहरुलाई अनुरोध गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , महेश थापा , ओम शर्मा , दिपकज्योती पौडेल , वीरमान मगर , डिल्ली अंमाई , सन्तोष न्यौपाने , शेर बहादुर छन्त्याल , नीलम घिमिरे सापकोटा लगायतका पत्रकारहरुले राजदुत थापालाई कार्यकाल सफलताको शुभकामना सहित नेपाल र नेपालीका लागि हुने साकारात्मक काममा संचारको माध्यमबाट सहयोग रहने बिचार राख्नु भएको थियो ।