मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् पूर्व उपप्रधानमंत्री विजय गच्छेदारले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल र अन्य दलहरुको सहमति आवश्यक हुने बताउँनुभएको छ । मधेसका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक भएपनि सबै दलसँग छलफल गरेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ ।
बुधवार विराटनगरमा संचारकर्मीहरु सँग कुरा गर्दै अध्यक्ष विजय गच्छेदारले संविधान संशोधनका लागि सत्तापक्षले मात्र निर्णय गरेर नपुग्ने बताउँदै सबैको सहमतिबाट मात्र संशोधन सम्भव भएको जिकिर गर्नुभयो । उहाँले सरकारले झारा टार्ने हिसाबले संशोधनको प्रस्ताव अघि बढाएकोमा गुनासो गर्दै प्रमुख राजनीतिक दल र मधेसवादी दलहरु सहितको सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभयो ।
अध्यक्ष गच्छेदारले स्थानीय तहका लागि इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकोले राजनैतिक दलहरुको सहमतिमा मात्र स्थानीय तहको सिमांकन र संख्या निर्धारण गर्नुपर्ने माग गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकोमा जोड दिदैस्थानीय तहको पुनसंरचनाका लागि आयोग, सरकार र प्रमुख राजनैतिक दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।