राजनीतिक सङ्क्रमणकाल बढ्योः ओली

0

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताउनुभएको छ । एमाले प्रदेश नं ३ को प्रथम बैठकको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुङगोमा पु¥याउन जटिल भएको बताउनुभयो । “संविधान जारी गरेपछि हामी राजनीतिक सङ्क्रमणकालको अन्तिममा थियौँ”–पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “तर संविधान पूर्ण रुपमा कार्यान्वयन नभएकाले राजनीतिक परिवर्तन जटिल मोडमा पुगेको छ । सङ्क्रमणकाल सहज ढङ्गले जाने स्थिति छैन ।”

उहाँले कार्यकारी पदमा नभए पनि अहिलेको सङ्क्रमणकाललाई टुङ्ग्याउने जिम्मा एमालेको छ भन्दै आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सक्नुपर्ने बताउनुभयो । छिमेकीसँगको नीतिमा केही समस्या आए पनि अन्तर्राष्ट्रिय नीतिमा केही फरक नपरेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली काँग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाउनुभयो । “देशमा अशान्ति छ । तर काँग्रेस एकाग्रह बनेको छ । केही बोल्दैन”¬–उहाँले भन्नुभयो, “काँग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ । देशका बारेमा गम्भीर छैन ।” नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तर पनि आदिवासी जनजाति र मधेसी विरोधीको आरोप लगाएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खण्डन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक मूल्य मान्यताका हिसाबले विश्वको अग्रगामी संविधानभित्र नेपालको संविधान पर्ने बताउँदै सबै जातजाति र भाषाभाषीको अधिकार स्थापित गर्ने समाजवाद उन्मुख संविधान भएको जिकिर गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले संविधान चाँडै घोषणा गर्नुपर्ने भएकाले एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडान छाडेको उल्लेख गर्दै तर त्यसलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको आँैल्याउनुभयो ।

उहाँले भन्नुभयो, “ तोकिएको समयमा तीन तहको निर्वाचन गरेर राजनीतिक सङ्क्रमणकाल अन्त्य गर्नुपर्छ ।” उहाँले पार्टी गुट र समूहगत भावनाले ग्रस्त भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सार्वभौम, राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप हुने खालका गतिविधि बढेकाले खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave A Reply

Your email address will not be published.