फिफा विश्व वरीयतामा नेपाल फेरि खस्कियो

काठमाडौं, २४ आषाढ । विश्व फुटबलमा नेपालको स्थिति क्रमशः खस्कँदै गएको छ । विश्व फुटबल महासंघ (फिफा)ले जारी गरेको नयाँ वरीयताक्रममा नेपाल दुई स्थान तल झरेको हो । फिफाले विहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै १८५औं स्थानमा पुगेको छ । योसँगै नेपाल दक्षिण एसियमा सबैभन्दा पुछारमा रहेको छ ।
दक्षिण एसियामा पहिलो स्थानमा रहेको अफगानिस्तान १७ स्थान छलाङ मार्दै विश्व वरीयतामा १३४औं स्थानमा छ । यस्तै, भारत १५६औं स्थानमा छ भने भुटान १६६औं स्थानमा रहेको छ ।नयाँ वरीयतामा बंगलादेश १६९औं स्थानमा, पाकिस्तान १७२औं स्थानमा, माल्दिभ्यस १७६औं स्थानमा र श्रीलंका १८३औं स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिताको उपविजेता अर्जेन्टिनाले विश्व विजेता जर्मनीलाई उछिन्दै पहिलो स्थान ओगटेको छ । यसअघि पहिलो स्थानमा रहेको जर्मनी नयाँ वरीयतामा दोस्रो स्थानमा धकेलिएको हो । फिफा वरीयताको शीर्ष पाँचमा क्रमशः अर्जेन्टिना, जर्मनी, बेल्जियम, कोलम्बिया र नेदरल्यान्ड्स छन् भने ब्राजिल छैटौं स्थानमा छ । कोपा अमेरिका फुटबलको उपाधि विजेता चिली भने ११औं स्थानमा रहेको छ ।