प्रसिद्ध क्रिकेट खेलाडि फिलिप ह्युग्सलाई भावपूर्ण श्रद्धाञ्जली

अन्तर्राष्ट्रिय क्रिकेटका सफलतम् खेलाडीहरूले बुधबार फिलिप ह्युग्सलाई भावपूर्ण श्रद्धाञ्जली प्रदान गरेका छन् । ह्युग्सको गृहनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । म्याक्सवेलको जनसंख्या दुई हजार पाँच सय रहेको छ ।

पछिल्लो साता सेफिल्ड सिल्डमा खेल्नेक्रममा बाउन्सरले टाउकाको पछिल्लो भागमा लागेपछि कोमामा गएका ह्युग्सको निधन भएको थियो । न्यु साउथ वेल्सको म्याक्सवेलस्थित उनी पढेको स्कुलमा भएको कार्यक्रममा ह्युग्सको कफिनमाथि एक्लो क्रिकेट ब्याट राखिएको थियो ।

कार्यक्रममा उनको परिवार, साथी खेलाडीको ठूलो उपस्थिति थियो । त्यस अवसरमा अस्टे्रलियाली टिमका कप्तान माइकल क्लार्कले भने, ‘तिमी कहाँ छौं, मलाई थाहा छैन । तर म सधैं तिमीलाई हेरिरहेको छु ।’ ह्युग्सले अस्टे्रलियाका लागि २६ टेस्ट खेले र भारतविरुद्ध सुरु हुने सिरिजमा उनले स्थान पाउने तय देखिएको थियो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा उनी घाइते भएका थिए । उनको निधनले अस्टे्रलिया स्तब्ध बनेको थियो । अस्टे्रलियामा क्रिकेटलाई राष्ट्रिय खेल मानिन्छ । श्रद्धाञ्जली कार्यक्रममा सेन वार्न, ब्रायन लारा, ग्लेन म्याकग्रा, विराट कोहली र रिकी पोन्टिङको पनि उपस्थिति थियो ।