नेपालले २३ वर्षपछि जित्यो उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो । फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्‍यो । नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।
खेलको ५औं मिनेटमै गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ८७औं मिनेटमा विशालले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे । नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका थिए । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको थियो । समूह चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो । आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो । नेपाली फुटबलको इतिहासमा सन् १९८४ र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलोपटक हो ।