नेपालको यु–१९ टिम एसिया कपमा छनोट

नेपालको यु–१९ क्रिकेट टिम एक खेल खेल्न बाँकी छँदै एसिया कपका लागि छानिएको छ । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटको चौथो खेलमा मंगलबार कुवेतलाई ८३ रनले पराजित गरेसँगै नेपाल एक खेल खेल्न बाँकी छँदै यु–१९ एसिया कपका लागि छानिएको हो ।
२ सय ५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कुवेतले ९ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । कसिलो बलिङ गर्नेक्रममा सुशील कणेल र प्रेम तामाङले समान २ विकेट लिए । यसअघि ठोस ब्याटिङ गर्नेक्रममा नेपालले ८ विकेट गुमाएर २ सय ५० रन जोडेको थियो । ६६ रन जोड्दा ६ विकेट गुमाइसकेको अवस्थामा सातौं विकेटका लागि १ सय ३० रनको साझेदारी गर्नेक्रममा दीपेन्द्र सिंह ऐरीले ९१ बलमा ८५ तथा सौरभ खनालले ७३ रनको योगदान दिए ।
६ टोली सहभागी प्रतियोगितामा चार खेलबाट शतप्रतिशत नतिजाका साथ अफगानिस्तान शीर्ष स्थानमा रहँदा रन रेटमा मलेसियालाई पछाडि पार्दै ६ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । समान दुई अंकका कुवेत र युएई क्रमशः चौथो र पाँचौं स्थानमा रहँदा अंकविहीन साउदी अरेबिया पुछारमा छ । शीर्ष तीनमा रहेका टोली एसिया कपका लागि छानिएका छन् । लिगको अन्तिम खेलमा नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ ।